निर्णायक खेलमा नेपाल, क्यानडाको चुनौति सामना गर्दै

पोखरा, फागुन २ ।
आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज अन्तिम चरणका निर्णायक खेलहरु हुँदैछन् । अन्तिम चरणमा नेपाल र क्यानडा, युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दुई खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ । शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् । शीर्ष स्थानमा रहेको क्यानडा, दोस्रो स्थानको नामिबिया र तेस्रो स्थानको नेपालको समान ६–६ अंक छ । नेट रनरेटमा भने नेपाल दुई टिमभन्दा पछि छ । तीन वटै टिमले समान ३–३ खेलमा जित हात पार्दा १–१ खेलमा हार बेहोरेका थिए । २ खेलमा जित र २ खेलमा पराजित युएईको ४ अंक छ । नेपाल शीर्ष २ मा पर्न क्यानडालाई पराजित गर्नुपर्छ । हार बेहोरेको खन्डमा नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिनेछ । नेपालले हार बेहेरेको अवस्थामा नामिबियाले जिते नेपाललाई अंकमा पछि पार्नेछ । युएई विजयी भए रनरेटमा नेपाललाई पछि पार्नेछ । यसर्थ नेपालका लागि क्यानडाविरुद्धको खेल ‘गर या मर’ सरह हुनेछ । नेपाल र क्यानडाबीच खेल बुधाबार नामिबयाको वन्डरर्स मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपालले बलिङमा राम्रो प्रदर्शन गर्दा ब्याटिङमा भने आफुलाई पूर्णरुपमा प्रमाणित गर्न सकेको छैन । बलिङतर्फ नेपालका लेग स्पिनर सन्दीप लामिछानले प्रतियोगिताकै सबैभन्दा बढी विकेट लिने क्रममा १४ विकेट लिइसकेका छन् । ९ विकेट लिएका सोमपाल कामी बढी विकेट लिने खेलाडीको चौथों स्थानमा छन् ।
क्यनडाका लागि प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी निखिल दत्ता हुन् । कुवेतमा जन्मिएका उनले प्रतियोगितामा ४ खेल खेलेर ८ विकेट लिएका छन् । क्यानडाका खेलाडीले ब्याटिङमा भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बढी रन प्रहार गर्ने ब्याट्सम्यानको शीर्ष दुई खेलाडी क्यानडाका छन् । प्रतियोगितामा हालसम्म क्यानडाका रुभिन्दु गुणसेकेराले सबैभन्दा बढी २ सय ७ रन जोडिसकेका छन् । प्रतियोगितामा २ अर्धशतक प्रहार गरिसकेका उनले केन्याविरुद्ध ८३ रन प्रहार गरेका थिए ।नेपालका लागि बढी रन प्रहार गर्ने खेलाडी कप्तान पारस खड्का हुन् । पारसले ४ खेलमा १ सय २९ रन मात्र जोड्न सकेका छन् । उनी प्रतियोगिताको बढी रन प्रहार गर्ने खेलाडीको सूचीको छैटौं स्थानमा छन् । पारस बाहेक नेपालका अन्य ब्याट्सम्यानले ४ खेलमा सय रन कटाउन सकेका छैनन् ।