निरन्तर मन्त्री, विकासको खडेरी

प्रकाश ढकाल
पोखरा, मंसिर २५ ।
कास्की क्षेत्र नम्बर १ सँग एउटा गज्जवको इतिहास छ । पञ्चायतपछिका चुनावमा यो क्षेत्रबाट जितेका सबै सांसदहरु मन्त्री बनेर निस्किएका छन् । जनताको मत लिएर काठमाण्डौं हानिएका नेताहरु कहिलै पनि खाली हात फर्किएनन् । २०४८ सालमा चुनाव जितेका काँग्रेस नेता तारानाथ रानाभाट पञ्चायत ढलेपछि पहिलो पटक कास्कीबाट मन्त्री बने । २०५१ सालमा खगराज अधिकारीले चुनाव जिते, उतिबेला मन्त्री बन्न पाएनन् । तर उनै खगराज २०७० मा सांसद नहुँदा पनि मन्त्री बनेर पूरानो हिसाव चुक्ता गरे । २०५६ मा तारानाथ रानाभाट दोहोरिए । कास्कीले पहिलो पटक सभामुख पायो ।
देशमा राज्यब्यवस्था परिबर्तन भयो । २०६२÷०६३ पछि राजनीतिक माहौल फेरियो । २०६४ मा चुनाव भयो । माओबादीका नेता देवप्रसाद गुरुङ कास्की १ बाट विजयी भए । उनै गुरुङ देशको कानुनमन्त्री बने । यद्यपी २ निर्वाचन क्षेत्रबाट चुनाव जितेका गुरुङ कास्कीलाई राजीनामा थमाएर मनाङका प्रतिनिधी बने । तर अझैपनि उनलाई कस्केलीले आफ्नै प्रतिनिधी मान्छन् । संविधानसभाबाट संविधान जारी नभएपछि दोश्रो पटक संविधानसभाको चुनाव भयो । कास्की १ मा काँग्रेसले चुनाव जित्यो । यज्ञबहादुर थापा माननीय बने । ७० का विजेता थापा पनि कानुन मन्त्री बन्न भ्याए ।
समग्रमा कास्की १ निकै भाग्यमानी क्षेत्र हो । तर १ पटक चुनाव जितेर प्रतिनिधी बनेका नेता दोश्रो पटक जनताको मत र मन जित्न सकेनन् । यो धेरै लामो अवधीको प्रमाण हो । यो क्षेत्रले २ पटकसम्म तारानाथ रानाभाटलाई सत्तामा पु¥यायो । तर लगातार होईन । २०५१ मा चुनाव जितेका खगराज अधिकारी २ दशकपछि पुनः कास्की १ का जनताको प्रतिनिधी बनेका छन् । त्यसो त खगराजको संसदीय राजनीति खासै सफल होईन । पाचौं पटक संसदीय उम्मेदवार बनेका अधिकारी ३ पटकसम्म पराजीत भए । २०४८, २०५६ र २०६४ मा पराजीत उनी यसअघि २०५१ (मध्यावधी चुनाव) का विजेता हुन् ।
बहुदलपछि लगातार राष्ट्रिय राजनीतिमा सक्रिय अधिकारी जनताको मनमा भने बस्न सकेनन् । यद्यपी उनलाई राष्ट्रिय राजनीतिले पत्याईरह्यो । जनताले मत दिएनन्, पार्टीले उनलाई थमथमाईरह्यो । त्यसो त कास्कीमा एमाले स्थापित गर्ने आन्दोलनका सक्रिय योद्धा हुन् अधिकारी । त्यसमाथी केपी ओलीका विश्वास पात्र उनी, जव ओली देशमा उदाए त्यसपछि खगराजको भाग्योदय भयो । सांसद नै नभएका उनी २०७० मा स्वास्थ्यमन्त्री बने । संसदीय अभ्यासमा सँधैजसो असफल भैरहेका खगराजको लामो समयपछि संसद् छिर्ने ढोका खुल्यो ।
लगातार मन्त्री पाईरहेको कास्की १ विकासका हिसावले भने ठगियो । यो क्षेत्रमा अहिलेसम्म देखिने गरी र जनताले महशुस गर्ने गरी विकास निर्माणको थालनी भएको छैन । यसमा एउटा पार्टी र एउटा नेताको नाता मात्रै जोडिँदैन । अहिलेसम्मका सबै मन्त्रीहरु र उनीहरुले प्रतिनिधित्व गर्ने पार्टीको एजेण्डा कास्की १ मा पुग्नै सकेन । हुनत विकास निर्माण गर्ने मन्त्रालय नपाएकै कारण पनि समस्या देखिएको हो । यहाँबाट प्रतिनिधीत्व गरेका ३ जना मन्त्रीहरुले कानुन मन्त्रालय मात्रै सम्हाले । उनीहरुको काम कानुन निर्माणमा केन्द्रित हुन्थ्यो । पहिलो पटक खगराज अधिकारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।