निजामति दिवसको शुभकामना दिँदै मुख्यमन्त्रीले भने‐जनताप्रति समर्पित भएर काम गर्नुस !

 

पोखरा २१ भदौ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको निति, योजना र कानुनको सफल कार्यन्वयन गराउन निजामति कर्मचारीको महत्वपुर्ण भुमिका हुने बताएका छन् ।

निजामति कर्मचारी दिवसको अवसर पारेर शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले संघीयताको सफल कार्यन्वयन गर्न र सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पुरा गर्न समेत यो क्षेत्रको महत्वपुर्ण भुमिका हुने बताएका छन् ।

‘नेपाली जनताको आकांंक्षा बमोजिम शुसासन र विकासको लक्ष्य हासिल गर्न दृढ राजनितिक इच्छाशक्ति भएको राजनितिक नेतृत्व र पारदर्शी, परिणाममुखी, जवाफदेही, सुचना र प्रविधिको अधिकतम उपयोग गर्न सक्षम प्रशासन अपरिहार्य छ’ शुभकामना सन्देशमा भनिएको छ ।

मुख्यमन्त्री गुरुङले जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमता सहितको निजामति सेवा निर्माणमा लाग्न सबै निजामति कर्मचारीमा आग्रह समेत गरेका छन् ।

सक्षम निजामति प्रशासन, विकास समृद्धि र सुशासन भन्ने नारा सहित निजामति दिवस आइतबार विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।