निगमले गण्डकी बोईङ जहाज बेच्दै, ८५ करोड बिक्रि मुल्य

पोखरा, असार १२ ।
नेपाल वायुसेवा निगमले बोइङ ७५७ जहाज बिक्रि गर्न टेन्डर आहृवान गरेको छ । न्यूनतम ७६ लाख ७६ हजार ७ सय ३० अमेरिकी डलर (करिब ८५ करोड १७ लाख ३३ हजार रुपैयाँ) न्यूनतम बिक्रि मूल्य तोकेर टेन्डर निकालिएको हो ।

बुधबारदेखि लागु हुने गरी ४५ दिनको म्याद तोकिएको छ । नियमानुसार अधिकतम मूल्य तिर्ने कम्पनीलाई जहाज बेचिने छ । छानिएको कम्पनीले २१ दिनभित्र निगमसँग जहाज खरिद–बिक्री सम्झौतामा हस्ताक्षर गरिसक्नु पर्छ ।

निगमले अहिले बेच्न लागेको जहाज ३१ वर्ष पुरानो हो । यो जहाज १५ सेप्टेम्बर १९८८ मा बनेको थियो । त्यसबेला निगमले कम्पनीमा बन्दाबन्दैको नयाँ जहाज किनेको थियो । १ सय ९० सीट क्षमता बनाएर निर्माण गरिएको यो जहाज डिसेम्बर २०१८ देखि यता भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै ग्राउण्डेड छ ।

तत्कालीन समयमा निगमले खरिद गरेका दुई बोइङ जहाजलाई ‘कर्णाली’ र ‘गण्डकी’ नाम दिएको थियो । कर्णाली दुई वर्ष अगाडि नै बेचिसकेको निगमले अहिले गण्डकी बेच्न लागेको हो । बोइङले सन् २००४ बाट ७५७ मोडलका जहाज उत्पादन बन्द गरिसकेको छ ।