नारायणगढ मुग्लिन सडक ‘जेठ १७ देखि गाडी सरर’

चितवन, वैशाख १५ ।

नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम अब लगभग १० प्रतिशत मात्र वाँकी रहेको सडक विस्तार आयोजनाले दाबी गरेको छ । सडक आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी शिव खनालले अव ३ किलोमिटर सडकखण्ड मात्र कालोपत्र गर्न बाँकी रहेको जानकारी दिनुभयो । ३ तहको कालोपत्रे हुनेमा ३० किलोमिटर क्षेत्रमा पहिलो तहको कालोपत्रे भइसकेको छ । यस्तै २८ किलोमिटरमा दोश्रो तहको र ८ किलोमिटरमा तेश्रो तहको कालोपत्रे भइसकेको उहाँले जानकारी दिनुभयो ।

सडकको लम्बाइ ३३ किलोमिटर २ सय मिटर हो । तीनै तहको कालोपत्रे बैशाखको अन्तिमसम्ममा सक्ने र बाँकी काम जेठको दोश्रो हप्तासम्म सकेर सडक खुला गर्ने आयोजनाको लक्ष्य रहेको उहाँले बताउनुभयो । जेठ १७ गतेदेखि गाडी चल्नेगरि सडक खुला हुने खनालले दावी गर्नुभयो । अहिले विहान १० देखि ४ बजेसम्म सवारीसाधन बन्द गरेर काम भइरहेको छ । तीनपटक म्याद थपिएको आयोजनाको काम जेठ १६ गतेसम्ममा सक्नुपर्ने सम्झौता छ । सुरुमा सन् २०१७ को अप्रिल महिनाभित्र काम सक्नेगरि ठेक्का दिईएपनि भूकम्प, नाकाबन्दी बर्षात लगायत कारण अवधि थप गरिंदै आएको थियो ।

सडक खण्ड पार गर्न अब आधा समय मात्र
नियमित आवतजावत गर्न पाउदा निर्माण सुरु गर्नुअघि सडकखण्ड पार गर्न ७० मिनेट लाग्ने गरेकोमा निर्माण सम्पन्न भएपछि ३५ मिनेटमात्र लाग्ने आयोजनाको दावी छ । आयोजनाका इन्जिनियर खनालले सडक विस्तारपछि ३ सय ५० मिटर छोटो हुने जानकारी दिनुभयो । नारायणगढदेखि मुग्लिन सम्मको सडकखण्डलाई तीनवटा निर्माण कम्पनीले तीन भागमा बाँडेर गरेर काम गरिरहेका छन् ।

आपटारीदेखि दासढुगांसम्म बिएलए तथा श्रेष्ठ निर्माण कम्पनीले, दासढुगांदेखि सिमलतालसम्म उडहिल तथा लामा निर्माण कम्पनीले र सिमलतालदेखि मुग्लिनसम्म सुप्रिम तथा रौताहा निर्माण कम्पनीले सडक विस्तारको काम गरिरहेका छन् । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना अन्तर्गत एशियाली विकास बैंकको ऋण सहयोगमा सडक विस्तारको काम शुरु गरिएको हो । नारायणगढ र गोरखा जोड्न सन् १९८२ मा चीन सरकारको सहयोगमा सो सडक बनेको थियो । सन २०१५ मा गरिएको सर्वेक्षण अनुसार नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक ८ हजार ३ सय १७ सवारी साधान गुड्ने गरेका छन् ।

लागत बढेर तीन अर्ब पुग्ने
सडक विस्तारको लागत मूल्य बढेर ३ अर्ब पुग्ने आयोजनाले जनाएको छ । निर्माण सम्पन्न हुनै लाग्दा केही कामसमेत थपिएकाले लागत ३१ करोड ५२ लाख छ हजार १ सय ८१ रुपैयाले बढेर तीन अर्ब २० करोड २२ लाख २० हजार ३ सय ९१ रुपैया पुगेको सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालले बताउनुभयो । २ अर्ब ९० करोडको लागमा एसियन हाइवे स्टाण्डर्डमा विस्तार गरिएको सडकको १४ किलोमिटर ११ मिटर र १९ किलोमिटर ९ मिटर चौडाइको बनाइन लागेको हो ।

सडकको पहिलो खण्डको झण्डै ६० करोड ६१ लाखबाट बढेर झण्डै रु ६८ करोड ९७ लाख,दोश्रो खण्डको लागत झण्डै ९७ करोड ६७ लाखबाट बढेर झण्डै एक अर्ब १० करोड र तेश्रो खण्डको लागत झण्डै १ अर्ब ३० करोडबाट बढेर एक अर्ब ४१ करोडको हाराहारी पुग्ने भएको पुगेको खनालले बताउनुभयो । एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु र कतिपय अत्यावश्यक काम थपिएपछि लागत मूल्य बढेको हो । आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनीयर पुष्कर रेग्मीका अनुसार थपिएको भित्तो कटाइ, पहिरो पन्छाइ, पर्खाल लगाउने काम, बोलपत्रभन्दा स्तरीय नाली निर्माण र कालोपत्र थप फराकिलो बनाउनेजस्ता काममा खर्च थपिएको हो ।