नाबालक दुई छोरालाई विष पिलाएर महिलाद्वारा आत्महत्या प्रयास, कान्छो छोराको मृत्यु

जनकपुर, पुस ११ ।
धनुषामा एक महिलाले आफ्ना दुई कलिला छोरालाई विष खुवाएर आफूले पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छन् । घरायसी विवादमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका १ सोनमाई खजुरी टोल बस्ने रवीन्द्र यादवकी २४ वर्षीया रीनादेवी यादवले छोराहरुलाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी हुन् ।

विष सेवनबाट कान्छो छोरा ३ वर्षीय रितेशको मृत्यु भएको छ भने जेठो छोरा ५ वर्षीय रितिकसहित उनी पनि सिकिस्त अवस्थामा छिन् । रीनालाई जनकपुरको जानकी हेल्थ केयरको आइसियूमा भर्ना गरिएको छ भने जेठो रितिकलाई जनकपुर अञ्चल अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कान्छो छोरा रितेशको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । स्थानीयका अनुुसार सोमबार राति घरमा सासूसँग घरायसी विवाद भएपछि मंगलबार बिहान रीना दुई छोरालाई लिएर घरबाट हिँडेकी थिइन । पछि घरपरिवार र स्थानीयले खोजी गर्दा उनीहरु विष सेवन गरेको अवस्थामा मंगलबार दिउँसो करिब ३ बजे जनकपुरको कभर्डहल नजिक फेला परेका थिए । स्थानीयले उनीहरुलाई तत्काल अस्पताल र्पुयाएका थिए ।

अलिअलि होसमा रहेको जेठो छोरा रितिकले आमाले विष आफै खाएर भाइ र आफूलाई समेत खुवाएको बताएका थिए । अस्पताल ल्याउँदे गर्दा रितेशको बाटोमै मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।