नवराज सिलवाल अझै फरार (यस्तो छ प्रहरीको रिपोर्ट)

काठमाण्डौं, पुस २६ ।
कार्यसम्पादन मूल्याङकनसम्बन्धि गोप्य सरकारी कागजपत्र कीर्ते गरेको आरोप झेलिरहेका एमाले सांसद तथा पूर्वडिआईजी नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरी असफल भएको छ । उनलाई पक्राउ गरी उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर परिसरलाई गत पुस १८ गते पत्राचार गरेको थियो । ८ दिनपछि ललितपुर प्रहरीले सिलवाल नभेटिएको भन्दै काठमाडौं प्रहरीलाई पत्राचार गरेको छ । व्यक्ति फेला नपरेको भन्दै बुधबार काठमाडौं प्रहरीलाई पत्र लेखिएको ललितपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बताए ।
काठमाडौं परिसरलाई पठाएको पत्रमा ‘घर ठेगानामा जाँदा नवराज सिलवाल नभेटिएको’ उल्लेख छ । सिलवालको स्थायी ठेगाना गोदावरी नगरपालिका वडा नम्बर ४ मा पर्दछ । उनको घरमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट प्रहरी पटक पटक घर प्रहरी पुगेको थियो । आफुविरुद्ध पक्राउ पूर्जी जारी हुने थाहा पाएपछि सिलवाल गत पुस १५ गतेदेखि नै घरमा बस्न छाडेका थिए । उनले आफु मलेसियामा रहेको भन्दै पछि अन्र्तवार्ता दिएका थिए । अनुसन्धानमा प्रहरीलाई सघाउने बताएका सिलवाल हालसम्म फरार छन् ।
काठमाडौं प्रहरी स्रोतका अनुसार उनले पेश गरेको कागजपत्र कीर्ते भएको भनेर प्रयोगशालबाट रिपोर्ट आएपछि सोधपुछका लागि उनलाई उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्राचार गरिएको हो । नेपाल प्रहरीको आईजिपी नियुक्तिसम्बन्धि मुद्दामा सिलवाले पेश गरेका कागजपत्र कीर्ते भएको सर्वाेच्चको फैसलाका आधारमा काठमाडौं प्रहरीले अनुसन्धान अघि बढाएको हो ।