नवराज सिलवालका कागजपत्र कीर्ते भएको पुष्टी (के हुन्छ कारबाही)

काठमाण्डौं, माघ २९ ।
एमाले सांसद तथा पूर्वडिआइजी नवराज सिलवालमाथिको अनुसन्धान पूरा भएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा उनले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी विवरण कीर्ते गरेको पुष्टि भएको छ । उनले बुझाएको कासमू कीर्ते भएको पुष्टि भएसँगै उनलाई मुद्दा दायरको तयारी सुरु भएको छ । यही हप्ताभित्र सिलवालविरुद्ध मुद्दा दायर गरिने महानगरीय प्रहरी परिसरका एक अधिकारीले बताए । सिलवालले पेश गरेको कागजपत्र कीर्ते भएको प्रयोगशालाको रिपोर्टबाट समेत प्रस्ट भएको छ । त्यस्तै लोकसेवा आयोग, गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा भएको कासमुसम्बन्धी फाइल समेत झिकाएर परिसरले अनुसन्धान गरेको थियो । सो क्रममा सिलवालले अदालतमा पेश गरेको कासमू र अन्य निकायमा भएको कासमू फरक परेपछि सिलवालले नै कीर्ते गरेको पुष्टि भएको निष्कर्ष प्रहरीले निकालेको हो ।
सर्वोच्च अदालतले सिलवालले पेश गरेको कागजपत्र कीर्ते भएको भन्दै दोषीलाई छानबिन गरी कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा सिलवालमाथि छानबिन सुरु भएको हो । छानबिन सुरु भएलगत्तै उनी फरार भएका थिए। फरार प्रतिवादी बनाएर उनीविरुद्ध मुद्दा दायर गर्ने प्रहरीको तयारी छ । सरकारी कागजपत्र कीर्तेसम्बन्धी मुद्दामा एक वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ । सिलवाललाई मात्र प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको प्रहरी स्रोत बताउँछ । कार्यसम्पादन मूल्यांकनमा आफ्नो नम्बर सबैभन्दा धेरै देखाउन सिलवालले नक्कली कागजपत्र पेश गरेको आरोप लाग्दै आएको थियो । सिलवालले भने अनलाइन मिडियामा आएको विवरण आफूले अदालतमा पेश गरेको बताउँदै आएका छन् । आइजिपी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत भदौमा फैसला गरेको थियो । मुद्दा हारेपछि सिलवाल राजीनामा दिएर एमाले प्रवेश गरेका थिए । मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी ललितपुर १ बाट निर्वा्चित भएका हुन् ।