नवनियुक्त पर्यटनमन्त्री भट्टराईलाई सांसदहरुको सुझाव, नेपाल भ्रमण वर्ष सफल बनाउनतर्फ ध्यान केन्द्रित गर्नु

 

काठमाडौं, साउन १९ ।

सांसदहरुले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउनेतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् ।

मन्त्री भट्टराईसँग छलफल गर्न आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले भ्रमण वर्ष २०२० सुरु हुन ५ महिना मात्र बाँकी रहेकाले भ्रमण वर्ष सफल बनाउन प्रभावकारी ढंगले काम गर्न सुझाव दिएका हुन् ।

अहिलेकै तयारीले भ्रमण वर्ष सफल हुनेमा आशंका रहेको भन्दै सांसदहरुले कामको रफ्तार बढाउन र भ्रमण वर्षको सचिवालयलाई चुस्त बनाउन आग्रह गरे ।

बैठकमा समितिका सदस्य माधवकुमार नेपालले नेपालको ऐतिहासिक र सांस्कृतिक महत्वलाई केन्द्रमा राखेर भ्रमण वर्षको प्रचार तथा कार्यक्रम ल्याउनुपर्ने बताए । उनले केही हवाई कम्पनीहरुले पैसा कमाउनकै लागि पर्यटकलाई फेक रेस्क्यु गर्ने विकृतिलाई रोक्नको लागि विशेष ध्यान दिन मन्त्री भट्टराईलाई आग्रह गरे ।

सांसद दिव्यमणी राजभण्डारीले नेपाल वायुसेवा निगमका वाइडबडी जहाजलाई लामा र ठूला गन्तव्यमा उडाउन र मुलुकका विकट ठाउँका विमानस्थल सञ्चालनमा जोड दिन माग गरे ।

समितिका सदस्यहरुको सुझावपछि मन्त्री भट्टराईले आफुले समितिका निर्देशन तथा सुझावलाई शिरोधार्य गर्ने र निरन्तर समितिसँगको छलफलमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरे ।

(ईमेजखबरबाट साभार)