नयाँ सरकार कहिले बन्दैछ ?

पोखरा, मंसिर १९ ।
मंसिर २१ म प्रदेश र प्रतिनिधीसभा सदस्यको दोश्रो चरणको चुनाव हुँदैछ । संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने उल्लेख छ । प्रदेश सभा सरकार गठनको व्यवस्था पनि प्रतिनिधिसभाको जस्तै गरिएको छ । आगामी २१ मंसिरदेखि मतगणना सुरु भएमा समानुपातिकसहितको अन्तिम परिणाम आउन कम्तीमा तीन साता लाग्नेछ । १० पुससम्म अन्तिम नतिजा आएमा मध्य माघमा देशले नयाँ सरकार पाउनेछ ।
संविधानमा प्रतिनिधिसभामा कुनै एक दलले बहुमत प्राप्त गरे सो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुन्छन् । त्यस्तै, कुनै पनि दलको बहुमत नआएको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने नेता प्रधानमन्त्री बन्ने व्यवस्था संविधानमा छ ।
संविधानको धारा १६८ मा प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आएको मितिले ३५ दिनभित्र प्रदेशको मुख्यमन्त्री निर्वा्चित गरिसक्नुपर्ने व्यवस्था गरेको छ । प्रदेश सभामा पनि केन्द्रमा जस्तै कुनै एक दलले बहुमत ल्याएमा सोही दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्नेछन् । कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको बहुमत प्राप्त गर्ने प्रदेश सभाको सदस्य मुख्यमन्त्री बन्ने उल्लेख छ ।