नयाँ शक्ति भन्छ–जाति नाम नराखे संघर्ष हुन सक्छ

पोखरा, असार २२ ।
नयाँशक्ति पार्टीले प्रदेशको नामाकरण बिषयमा फरक मत राखेको छ । संशोधन प्रश्ताव गर्दै नयाँ शक्तिले गण्डकी–तमुवान नाम हुनुपर्ने अडान लिएको हो । ‘प्रदेश ४ तमुहरुको आदिम थलो हो । यहाँ मगरहरुको बाहुल्यता छ, सांसद हरिशरण आचार्यले भने–सकेसम्म तमुवान मगरात नभएपनि गण्डकी तमुवान नाम राख्नैपर्छ ।’

प्रदेशसभामा नामाकरणबारे आफ्ना धारणा राख्दै आचार्यले प्रदेशको भविष्यका लागि गण्डकी–तमुवान उपयुक्त हुने बताए । ‘प्रदेशभित्रका जातजातिलाई अधिकार पाएको महशुस भएमात्रै संघीयता टिक्छ नत्र संघीय प्रणाली नै धरापमा पर्ला । पहिचान नामेट हुने गरी नाम राखे जनआन्दोलनको औचित्य के ? उनले प्रश्न गरे–अधिकार देखाएर संघीयता ल्यायौं । नामाकरणमा ध्यान नदिए ५–७ बर्षमै यो प्रणाली खारेज हुन सक्छ ।’

आचार्यले निरन्तर उत्पिडित समुदायको पक्षमा नयाँ शक्तिले आवाज उठाउने प्रतिवद्धता जनाए । प्यालेष्टाईनमा यहुदीको शासनलाई उदाहरण दिँदै उनी भन्छन्–‘प्रदेश ४ तमुहरुको आदिम थलो, मगरको बाहुल्यता भएको ठाउँ । यहाँ कसले शासन गर्दैछ ? यसरी चलेको शासन कहिलेसम्म टिक्ला ?’ उनले पहिचान सहितको नाम नराखे संघर्ष गर्ने संकेत गरेका छन् ।