नयाँ बन्दै पश्चिमाञ्चल अस्पताल, ६८ करोड रुपैयाँ खर्च लाग्ने

पोखरा, भदौ ४ ।
गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पतालको पुराना भवनलाई रेट्रो फिटिङ गरी पुर्ननिर्माण गर्ने टेण्डर प्रक्रियामा रहँदा अस्पतालको नयाँ भवनको स्केच तयार गरिएको छ । रेट्रो फिटिङपछि अस्पतालको भवन पूर्ण नयाँ स्वरुपमा देखिने छन् । छ दशक अघि निर्माण गरिएको अस्पतालका भवनहरु तीन वर्ष अघि गएको भूकम्पले जीर्ण बनेका थिए ।

जीर्ण अवस्थाका भवनलाई नयाँ स्वरुप दिन अस्पताल प्रशासनले रेट्रो फिटिङ गर्ने तयारी गरेको हो । त्यसको लागि स्वास्थ्य मन्त्रालय मार्फत बेलायती संस्था डिएफआईडी (डिपार्टमेन्ट अफ इन्टरनेशनल डेभलपमेन्ट) ले मर्मत सम्भार गरिदिने छ ।

मन्त्रालयले त्यसको लागि आवश्यक टेण्डर प्रक्रियामा लगिसकेको छ । टेण्डरको फाईनल प्रक्रिया भने टुंगिसकेको छैन । तर भवनको नयाँ स्वरुपको स्केच भने शनिबार मात्रै सार्वजनिक गरिएको छ ।

भएका पुराना भवनलाई मर्मतसँगै दुईवटा भवन नयाँ थपिने छ । विरामी तथा सर्वसाधारणको लागि क्यान्टिन तथा अस्पतालको लाईब्रेरी निर्माण गरिने छ । ६८ करोड अनुमानित गरिएको बजेट बढेर पुग्ने अनुमान समेत गरिएको छ । अस्पतालकै केही कर्मचारीले भने पुरानो भवनलाई रेट्रो फिटिङ भन्दा नयाँ भवन नै निर्माण गर्नुपर्नेमा जोड दिदै आएका छन् ।

डिएफआईडीले भने नयाँ भवनमा नभई पुरानो जीर्ण भवनलाई मर्मत सम्भारमा खर्च गर्ने अस्पताल प्रशासनले उल्लेख गरेको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयले अस्पतालको आवश्यक स्वीकृति दिएपछि स्वास्थ्य मन्त्रालयले टेण्डर प्रक्रियामा लैजाने तयारी गरेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए ।