नयाँ पुस्ताको कमाण्डमा नेविसंघ–को को छन् अध्यक्षकाे रेसमा ?

काठमाण्डौं, असोज २६ ।
काँग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अधिवेशन नजिकिँदैछ । केही दिनअघि पार्टीले नै नेविसंघको नेतृत्वमा उमेरहद तोकिदिएपछि अहिले सभापति को भन्ने भन्ने बिषय बढी चर्चामा छ । उमेरहदले यसअघिका दावेदार रिङ आउट हुँदैछन् । पूरै कार्यान्वयन भए नयाँ पुस्तामा नेविसंघको कमाण्ड आईपुग्छ । शीर्ष चार नेताले ‘नोट अफ डिसेन्ट’ लेखेर असहमति जनाएपनि यो परिवर्तन हुने सम्भावना देखिँदैन ।

उमेर हद लाग्ने निर्णयसँगै काँग्रेसको नर्सरी मानिने नेविसंघभित्र नयाँ तरङ्ग आएको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहमा विभाजित पार्टीको भ्रातृ संगठन पनि तीन समूहमा बाँडिएको छ । उमेर हद लागू हुने भएपछि सबै समूहमा ३२ वर्ष पुरा नभएका नेविसंघ हाँक्ने कमाण्डरहरुको खोजी हुन थालेको छ । नेविसंघको विधान अनुसार नयाँ अधिवेशन कात्तिक १६ देखि २० गतेसम्म गरिसक्नुपर्छ ।

अधिवेशन नजिक आएपछि उम्मेदवारका चर्चा समेत सुरु भएको छ । यसपटकको महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा निकट हालका सहमहामन्त्री प्रकाश घिमिरे निकै वलिया छन् । अम्बिका चलाउनेलाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । तर, उनी अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको उपमेयर भएकाले नेविसंघमा आउन सक्ने सम्भावना निकै कम छ । देउवा पक्षधर नेविसंघका सहमहामन्त्री प्रेम जोशी र पवन यादव अवको नेविसंघ ड्राइभ गर्ने बलियो उम्मेद्वार मानिन्छन् ।

नेता कृष्ण सिटौला समुहबाट सुशील भट्ट, हरि आचार्य र सिजर भट्ट नेविसंघको नेतृत्वका लागि प्रवल दाबेदार हुन् । वर्तमान केन्द्रीय कार्यसमिति सदस्य भट्ट नेविसंघ भित्र लोकप्रिय मानिन्छन् । भट्टलाई सिटौला समूहको अलवा पूर्व महामन्त्री प्रकाशमानसिंह, अर्जुननरसिंह केसी लगायतको समेत साथ रहेको बुझिएको छ ।

यस्तै त्रिभुवन विश्वविद्यालय समितिको नेतृत्व सम्हालिरहेका आचार्य पनि दाबेदार मानिन्छन् । अमृत साईन्स क्याम्पसबाट नेविसंघको राजनीति बलियो बनाएका सिजर विद्यार्थीहरुबिच परिचित मानिन्छन् । बर्तमान नेविसंघको केन्द्रीय समितीमा रहेका सागर परियार सहित करिब १ दर्जन विद्यार्थी नेतामध्येबाट अबको नेविसंघको कमाण्डर चुनिने विद्यार्थीहरुबीच चर्चा चल्न थालेको छ ।

त्यसो त विद्यार्थी नेता निरञ्जन थापा पनि अध्यक्षको दाबेदार हुन् । जिपि कोइराला अध्ययन केन्द्रको महासचिव भएर विभिन्न बैचारिक बहस चलाउँदै आएका थापा गत महाधिवेशनमा भने थोरै मनान्तरले सहमहामन्त्रीमा पराजित भएका थिए । अघिल्लो पटकको निर्वाचनमा सह–महामन्त्रीमा पराजित डोजाङ शेर्पा, नवराज त्रिपाठी र गणेश सापकोटालाई पनि सम्भावित उम्मेद्वारको रुपमा हेरिएको छ ।

काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल समुहका भनेर चिनिएका बर्तामान कोषाध्यक्ष शिव रिमाल र सागर परियार अबको नेविसंघको नेतृत्वमा आउन सक्ने बलिया प्रतिस्पर्धी हुन् भने केन्द्रिय सदस्य पुनम लामा पनि नेतृत्वको लागि चर्चामा रहेको नाम हो । दशँै तिहार लगत्तै काँग्रेस महासमति बैठक डाकिएको छ । त्यसपछि पार्टीको महाधिवेसनमा नेताहरु लाग्नुपर्ने भएपछि अन्ततः नेविसंघको अधिवेसन पार्टीको महाधिवेसनपछि मात्रै हुने बुझिएको छ ।