नयाँशक्तिलाई कार्यकर्ताकै सुझाव–बन्द गरेर पार्टी बन्दैन

पोखरा, असार २५ ।
जातिय राज्यको पक्षमा उभिएको नयाँ शक्तिलाई कार्यकर्ताले नै राज्यको आवश्यक्ता विपरित काम गरेको भन्दै विरोध गरेका छन् । विशेष गरी साविक प्रदेश ४ लाई तमुवान–मगरात नाम राख्न माग गर्दै आएको नयाँ शक्तिलाई कार्यकर्ताले जातिय राज्यका लागि पार्टी स्थापना नभएको भन्दै सच्चिएर ब्यवहार देखाउन आग्रह गरे ।

साविक प्रदेश ४ लाई प्रदेशसभाको ९७ प्रतिशत सांसदले गण्डकी नामाकरण गर्न समर्थन जनाएपछि प्रदेशसभाबाट निर्णय भैसकेको छ । तर नयाँ शक्तिले भने उत्पिडित पक्षको आवाज संसदले बोल्न नसकेको र जातिय पहिचान नाम राख्नुपर्ने अडान लिएको छ । नयाँ शक्तिले सदनबाटै असार २२ (प्रदेश नामाकरण गरिएको दिन) लाई कालो दिनको रुपमा घोषणा गरेको छ ।

यसैबीच, पोखराका जातिय संघ संस्थाले गरेको प्रदेश बन्दमा पनि नयाँ शक्तिले साथ र ऐक्यवद्धता जनाएको छ । नयाँ शक्तिका कार्यकर्ता सहित धेरै नागरिकहरुले नयाँ शक्तिको यस्तो ब्यवहारप्रति खरो टिप्पणी गरेका छन् । धेरैले सामाजिक सञ्जाल मार्फत नयाँ शक्तिले समृद्धीका नारा दिएर देशमा जातिय दंगा भड्काउने काममा लागेको गुनासो गरेका छन् ।