नयाँबजार मेलामा ४० रुपैयाँको टिकट काट्दा स्कुटर उपहार

पोखरा, मंसिर २४ ।
नयाँबजारमा चलेको सफल पोखरा एक्स्पो हेर्न टिकट काटेर गएका एकजना दर्शकले स्कुटर उपहार पाएका छन् । सोमबार खोलिएको बम्पर उपहार अन्तर्गत टिकट नं. ७४८ ले स्कुटर जितेको पोखरा उद्योग बाणिज्य संघका महासचिव तथा मेला ब्यवस्थापन समितिका संयोजक अर्जुन पोख्रेलले जानकारी दिए ।

उनका अनुसार ४० रुपैयाँको टिकट काट्ने दर्शकले स्कुटर जितेका हुन् । स्कुटर लिनका लागि अर्धकट्टी सहित १५ दिनभित्र सम्पर्क गर्नुपर्ने पोख्रेलले बताए । दैनिक टिकट अन्तर्गत २३ गते अवलोकन गर्ने टिकट नं. १८०५० को दर्शकलाई १५० लिटरको एलजि रेफ्रिजेरेटर, त्यस्तै २४ गतेको टिकट नं. १९२४९ ले युरोगार्ड पुरस्कार जितेको आयोजकले जनाएको छ । यी पुरस्कार दाबि गर्न अर्धकट्टी सहित तीनदिन भित्र संघको सचिवालयमा सम्पर्क गर्नुपर्नेछ ।

त्यस्तै मेला अवधिभर सञ्चालन भएका विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत रत्यौली प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । उक्त प्रतियोगितामा नमूना आमा समूह हेमजा पहिलो भएको थियो भने आर्वाविजय दिदीबहिनी समूह दोश्रो तथा महिला मिलन आमा समूह नदीपुर तेश्रो र नमुना कृषि समूह लेखनाथ सान्त्वना भएको छ । पहिलो हुनेले ३० हजार नगद, दोश्रोले २०, तेश्रोले १० र सान्त्वनाले ५ हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार पाएका छन् ।

दोहोरी गीत प्रतियोगितामा हाम्रो दोहोरी साँझ पृथ्वीचोक पहिलो भएर ५१ हजार नगद जितेको छ । दोश्रो हुने स्याङजालाई ३१, तेश्रो हुने बागलुङले २१ र सान्त्वना भएको सुमन केसी समूहले ११ हजार रुपैयाँ प्राप्त गरेको छ । मेला अवधिभर विभिन्न स्टल स्थापना गरी बिक्री एवं प्रदर्शनी गरेका ८ स्टललाई पुरस्कृत गरिएको थियो । संघले थप संस्करणको सफल एक्स्पो पोखरा आगामि वर्ष २०७६ मंसिर १८ देखि २८ गतेसम्म सञ्चालन गर्ने मिति तय भएको जनाएको छ ।

मेला समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले मेला महोत्सवले आर्थिक गतिविधी बढ्ने बताए । गण्डकी प्रदेशको राजधानी पोखरा भएको कारणले पनि यहाँ आयोजित मेलाले विशेष महत्व राख्ने उनको भनाई छ ।

प्रदेश सांसद विन्दु कुमार थापाले नीजि क्षेत्रसँगको सहकार्यमा मात्रै प्रदेशले समृद्धि हासिल गर्ने बताए । संघका पूर्वअध्यक्ष समेत रहेका प्रदेश सभा सदस्य थापाले वाणिज्य संघले विगत लामो दशकदेखि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, भौतिक पूर्वाधार निर्माणमा अगुवाई गर्दै आईरहेको स्मरण गरे । संघका अध्यक्ष दामु अधिकारीले मेला मार्फत उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्ने उद्देश्यले आयोजित मेला सोही अनुरुप लक्ष्य प्राप्त गर्न सफल भएको बताए । महोत्सव मंसिर १३ गतेदेखि सञ्चालन भएको थियो ।