नक्कली मेनपावरको नाममा ठगी गर्ने २ जना पोखराबाट समातिए (पूरा पढ्नुस्)
पोखरा, असोज २९ ।
जापान लैजाने भन्दै अन्तरवार्ता लिईरहेका दुईजनालाई पोखराको पृथ्वीचोकबाट दुईजना पक्राउ गरिएको छ । ठगी गर्न लागेको सूचना पाएपछि कास्की प्रहरीको टोलिले उनीहरुलाई पक्राउ गरेको हो । एभेन्चर ह्युमन रिसोर्स नामक संस्थाबाट जापान पठाउने भन्दै अन्तरवार्ता लिँदै गरेका स्याङजा आँधीखोलाका ५१ बर्षिय भगवान खड्का र कास्की रुपा गाउँपालिकाका निरज खनाल पक्राउ परेका हुन् ।
मुख्य मान्छे बाहिर भएकोले झिकाउन निर्देशन दिएको कास्की प्रहरीले जनाएको छ । अनुसन्धान चलिरहेकोले बैदेशिक रोजगारी, किर्ते वा ठगी मुद्धामा कारबाही अघि बढ्ने बताईएको छ । ‘मुख्य मान्छे पोखरा छैन । उनीहरुको बयान अनुसार मुख्य ब्यक्तिलाई झिकाएका छौं, कास्की प्रहरी प्रबक्ता रवीन्द्रमान गुरुङले भने–अनुसन्धान पछि मात्रै कारबाहीको बारेमा बोल्न मिल्छ ।’
उनीहरुले ६३ जनालाई जापान पठाउने भनेर अन्तरबार्ता लिएका थिए । पहिले विद्यार्थी भिसाबाट फालिएकाहरु वर्किङ भिसामा जानका लागि सम्पर्कमा आएका थिए । ‘नेपालगञ्जको बागेश्वरी कन्सल्टन्सीबाट जापानी भाषा सिकेको हो । भाषा सिकेपनि विद्यार्थी भिसा नलागेपछि अरु नै देश जान काठमाण्डौं गएको थिए । पछि त्यही कन्सल्टेन्सीको सरले फोन गरेर वर्किङ भिसा खुलेको भन्नुभयो, कालिकोटका जयकृष्ण अधिकारी भन्छन्–कन्सल्टेन्सीकै सरले पोखरामा सम्पर्क गराईदिनुभयो । अहिले अन्तरबार्ता दिँदै गर्दा मेनपावरवालालाई पक्राउ ग¥यो ।’
सबैजनाले जापानी भाषा सिकिसकेका छन् । उनीहरु ५ दिनदेखि पोखरा बसेको बताउँछन् । ‘५ दिनदेखि कहिले अन्तरवार्ता कहिले के भनेर झुलाईरहे । खाँदा बस्दा २०÷२५ हजार खर्च भैसक्यो, उनीहरु भन्छन्–अहिले यता न उता भैयो ।’ पीडितहरुका अनुसार मेनपावरवालाले पैसा चाहीँ उठाएका छैनन् ।
एकमहिना अघि संस्था दर्ता नभएको भन्दै जिल्ला प्रशासन र श्रम कार्यालय सहितको अनुगमन टोलिले मेनपावर कार्यालयमा तालाबन्दी गरेको थियो । तर केही दिनपछि ताला खोलेर पहिले झैं गरि काम गरिरहेका थिए । अहिले प्रहरीले शंकास्पद भन्दै दुईजनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु प्रहरीको नियन्त्रणमा छन् ।