नक्कली नोट र नोट बनाउने मेसिन सहित पोखराबाट २ जना पक्राउ

पोखरा, फागुन ६ ।
पोखराबाट नक्कली नोट र नोट प्रिण्ट गर्ने रंगिन प्रिण्टर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा १६ अर्मलाका विभिन्न किराना पसलहरुमा नक्कली पैसा दिएर रिचार्ज कार्ड लिएर फरार भएको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

ग १४ प ३५४ नम्बरको डुक मोटरसाईकलमा हिड्ने २ जनाले १ हजारका नक्कली नोटसँग रिचार्ज कार्ड साँटेका थिए । प्रहरीले मकवानपुर हेटौंडा घर भई हाल पोखरा महानगरपालिका–५ प्रस्याङ स्थित धारामार्गमा डेरा गरी बस्ने ३२ बर्षका नरेश लामा र निजकी श्रीमती वर्ष २५ की सरस्वती बलामीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट १ हजारका १९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने १ थान कलर प्रिण्टर, एनटिसी र एनसिएलका ९० हजार बराबरको रिचार्ज कार्ड, एउटा ल्यापटप, २ वटा मोवाईल र केही भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथी थप अनुसन्धान चलिरहेको कास्की प्रहरीले जनाएको छ ।