धादिङमा पहिरो खस्दा ५ जनाको मृत्यु

पोखरा, असार १४ ।
धादिङको दुईवटा पहिरोमा परि दुई परिवारका ५ जनाको मृत्यु भएको छ । खनियाबास गाउँपालिका–५ मा एकै परिवारका तीन जना र खनियाबास–४ मा दुई जना गरी ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा खानियाँबास ५ की ३३ वर्षीया बसुदा गुरुङ, १० वर्षकी छोरी लक्ष्मी र पाँच वर्षकी छोरी सरस्वतीको छन् । छोरा १० वर्षका विकास गुरुङ सामान्य घाइते भएका जिल्ला प्रहरी प्रमुख एसपी डम्बर बिकले जानकारी दिए । उनको नजिकको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यसैगरी खनियाँबास–४ चिउरीबोट गाउँमा पहिरोमा पुरिएर ६० वर्षीय शमशेर घले र उनकी श्रीमती कोप्ची घलेको मृत्यु भएको प्रहरीले जनाएको छ । दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् ।

गएराति करिब साढे १२ बजेतिर झरेको पहिरोले उनीहरुलाई पुरेको थियो । लगातारको वर्षाको कारण सो क्षेत्रमा १६ घर परिवार प्रभावित भएको प्रहरीले जनाएको छ ।