देशभर चिसो बढ्यो, अझै केहिदिन चिसो स्थिर रहने

हेटौँडा, पुस २३ गते । पश्चिमी वायुको प्रभावसँगै जम्मु कास्मिर हुँदै हिमालमाथिबाट हावा आएकाले देशभर चिसो बढेको छ । चिसोले देशभरकै जनजिबन प्रभाबित बनाएको छ । मानिसहरुलाई बाहिर हिंडडुल गर्न समेत समस्या भएको छ । चिसोले बिशेषगरि बालबालिका, बृद्धबृद्धा, दैनिक ज्यालादारी गर्ने मजदुरहरु, सुकुम्बासीहरुलाई प्रभाबित बनाएको छ । चिसोकै कारण मानिसहरुको दैनिकीमा समेत समस्या परेको छ । घाम नलाग्नु, हुस्सु लाग्नु तथा चिसो सिरेटो चल्नाले मानिसहरुले यसबर्ष अधिक जाडो महशुस गरेका हुन् । सोही कारण यातायात सञ्चालनमा समेत समस्या भएको छ । जाडो बढेसंगै बजारमा न्यानो र बाक्लो कपडाको माग धेरै छ ।

शितलहरले तराईमा एकदर्जन बढिको मृत्यु
लगातारको दुईसातासम्मको बाक्लो हुस्सु र शितलहरले तराईका जिल्लाहरुको जनजिबन निकै प्रभाबित बनाएको छ । शितलहरले यसबर्षमात्रै एक दर्जनबढि मानिसको मृत्यु भएको छ । शनिबार र आईतबार गरि सिराहामा एकबालकसहित ३ जनाको मृत्युभएसंगै तराईका जिल्लाहरुमा शितलहरले मृत्यु हुनेको संख्या एकदर्जन बढि नाघेको हो । आईतबार बिहान चिसोकै कारण धनगढीमाई नगरपालिका-७ कसहाका ५५ वर्षीय रामरतन महतो र गोलबजार नगरपालिका ४ का शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साहको मृत्यु भएको छ भने गोलबजार-२ लालपुरका ७० वर्षीय रामप्रसाद महतोको शनिबार चिसोकै कारण ज्यान गएको हो । यसअघि शितलहरकै कारण तराईका बिभिन्न जिल्लाहरुमा ९ जनाभन्दा बढिको मृत्यु भैसकेको छ ।

बढ्दो शितलहरकै कारण तराईका बिभिन्न जिल्लाहरुमा चिसोको बिरामीहरुको चाप बढेको छ । चिसोमा केहि राहत प्रदान होस् भन्ने हेतुले नेपाली सेना, विभिन्न सामाजिक संघसंस्थाहरुले तराईका विभिन्न स्थानमा चिया बाँड्ने, आगो ताप्ने व्यवस्था तथा न्यानो कपडा वितरण कार्य भैरहेको छ । तर सरकारले भने शितलहर बढेको दुईसाता बितिसक्दापनि प्रभाबितका लागि कुनै कदम चालेको छैन ।
चिसो अझै केहिदिन स्थिर रहने, चिसोबाट बच्न चिकित्सकको सुझाब
लगातारको बढेको चिसोले देशैभरको जनजिवन प्रभाबित बनाईरहेका बेला मौसम पूर्वानुमान महाशाखाले भने चिसो अझै केहिदिन स्थिर रहने जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै जम्मु कास्मिर हुँदै हिमालमाथिबाट हावा आएकाले देशैभर चिसो बढेको र यो अझै केहिदिन स्थिर रहनेछ ।

बढ्दो चिसोले बिरामी पार्नसक्ने भन्दै बाक्लो न्यानो लुगा लगाउन, तातो खानेकुरा, झोलिलो पदार्थ खान तथा बालबालिका , बृद्धबृद्धाहरुको बिशेष हेरचाह गर्न चिकित्सकले सुझाएका छन् । जाडो समयमा शरीरमा पानीको मात्रा कम हुने भएकाले पानी तताएर पिउन पनि डाक्टरहरुको सुझाब छ ।