देशभर कुन पार्टीको कति भोट ?

काठमाण्डौं, असोज २६ ।
आगामी चुनावका लागि लोकतान्त्रीक र वाम शक्तिले फरकफरक गठबन्धनको तयारी गरेका छन् । गठबन्धन इमान्दार भए लोकतान्त्रीक भन्दा वाम गठबन्धन बढी बलियो छ । स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले ५१ प्रतिशत पपुलर मत ल्याउने देखिन्छ । त्यस्तै, राप्रपादेखि मधेसी सबै दललाई जुटाउन सकेमा कांग्रेसले ४४ प्रतिशत मत जम्मा गर्न सक्ने देखिन्छ ।
एमाले र माओवादीले गठबन्धन बनाउने सैद्धान्तिक सहमति गरे पनि सिट बाँडफाँडको टुंगो लगाउन सकेका छैनन् । कांग्रेस नेतृत्व गठबन्धनको त न्यूनतम सहमति पनि हुन सकेको छैन ।
वाम गठबन्धनका सम्भावित दलहरू एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त र परिवार दलको मतलाई एकमुष्ट मत जोड्दा ४७ लाख ९५ हजार पुग्छ । साथै, कांग्रेसको नेतृत्वमा बन्ने लोकतान्त्रिक मोर्चामा रहने भनिएका संघीय समाजवादी फोरम, राजपा, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र फोरम लोकतान्त्रिकको एकमुष्ट मत ४० लाख ४१ हजार हुनेछ ।
वाम गठबन्धन बनेको र लोकतान्त्रिक गठबन्धन नबनेको अवस्थामा कांग्रेस १६ लाख मतले पछाडि हुने देखिन्छ । तर, हरेक निर्वाचनमा मतदाताले फरक परिणाम दिने गरेकाले अघिल्लो निर्वाचनको आधारमा विश्लेषण गर्न गाह्रो छ ।
स्थानीय तहमा प्राप्त मतका आधारमा विश्लेषण गर्दा २ लाख मत कटाउनेमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, राजपा गरी ६ दल मात्रै देखिएका छन् । पहिलो चरणको स्थानीय निर्वाचनमा दुई लाख मत नकटाएका फोरम, राजपाले तेस्रो चरणको स्थानीय निर्वाचनमा मत बढाई २ लाख कटाएका हुन् । यही मत कायम राखेको अवस्थामा राष्ट्रिय दल बन्ने सम्भावना देखिएको हो । त्यसैगरी, फोरम लोकतान्त्रिकले १ लाख २४ हजार र स्वतन्त्रतर्फका उम्मेदवारहरूले १ लाख १९ हजार मत कटाएका छन् ।