देवराज र विन्दुले भने–अर्मलाको जिम्मा हामीलाई दिनुस्

पोखरा, मंसिर १० ।
नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसे र प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापा यतिबेला पोखरा १६ को अर्मलामा चुनावी प्रचारमा ब्यस्त छन् । स्थानीयको समस्या बुझ्ने र समाधानका लागि प्रतिबद्धता जनाउँदै उनीहरु घरदैलो गरिरहेका छन् । अर्मला त्यही ठाउँ हो, जहाँ ५ बर्षअघि देखि भुवान परेर धेरैको घरबासै उठाएको थियो । त्यतिबेला शारदा पौडेल काँग्रेसबाट बिजयी सांसद थिईन् । उनकै पहलमा बस्ती संरक्षणका धेरै काम पनि भएका थिए । अहिले त्यो ठाउँमा कहिलेकाहीँ बाहेक यस्तो समस्या देखिँदैन । तर स्थानीयलाई त्रास उत्तिकै छ ।
महानगरको वडा भएपनि यो ठाउँ विकट नै छ । सजिलोसँग मोटर चल्ने अवस्था पनि छैन । बजारसम्म सामान्य कालोपत्रे पोतिएपनि त्यसमाथीका सडकहरु भर्खरै ट्रयाक खुलेका हुन् । खेतीका लागि ठूला फाँटहरु रहेको यो ठाउँमा सिञ्चाई सुविधा राम्रो छैन । विद्युत विस्तार र खानेपानीको समस्या पनि उस्तै छ । घरदैलोका क्रममा उम्मेदवारहरु चालिसे र थापाले सबै समस्याको समाधान गर्ने जिम्मा आँफुलाई दिन स्थानीयसँग आग्रह गरे ।
‘हामी भोट माग्नका लागि मात्रै यहाँ आएका होईनौं । तपाईँहरुको दुखसुखसँग भिज्न पनि चाहेका थियौं, उनीहरुले भने–यहाँको समस्या बुझ्यौं । हामी काम गर्छौं, हामीलाई पत्याईदिनुस् ।’ प्रतिनिधीसभाका उम्मेदवार देवराज चालिसेले जनताका दैनिक आईपर्ने समस्या समाधान गर्न कुनै पद नचाहिने भन्दै चुनावपछि पनि आँफु सँधै जनतासँगै रहने प्रतिबद्धता जनाए । ‘मलाई काम गर्न पद नै चाहिन्छ भन्ने छैन । तर काम गर्ने वातावरण बन्नुपर्छ, उनले भने–यसपाली सहयोग गर्दिनुहोला । तपाईँका सबै समस्या काँधमा बोकेर हिड्छु ।’
प्रदेशसभाका उम्मेदवार विन्दुकुमार थापाले पनि हरपल जनताकै सेवामा आँफु खटिने बताए । उनले अर्मलामा श्रोत र साधन अत्याधिक भएकाले त्यसको उपयोगमा आफ्नो जोडबल रहने जिकीर गरे । ‘अर्मला कुनैपनि हिसावले कमजोर छैन । तर नेतृत्वको कमजोरी पछि परेको छ, उनी भन्छन्–अव हामी आएका छौं । तपाईँलाई समृद्ध नागरिक बनाउने हाम्रो दायित्व हो ।’ परिवर्तनका लागि आँफुलाई मतदान गरिदिन आँफुलाई आग्रह छ ।