देउवा सरकारको निर्णय रामचन्द्रले गरे स्वागत

काठमाडौं, पुस ३० ।
प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले शुक्रबार गरेका निर्णयको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वागत गरेका छन् । धनकुटाको खोकु छिन्ताङमा मारिएका व्यक्तिलाई शहीद घोषणा र क्षतिपूर्ति दिने सरकारको निर्णय स्वागतयोग्य भएको उनले बताएका छन् । वरिष्ठ नेता पौडेलले आज एक विज्ञप्ति जारी गरी पञ्चायत होस् वा सबै खाले अधिनायकवादविरुद्ध र लोकतन्त्रको पक्षमा पटकपटक संघर्ष गर्दा ज्यान गुमाएका व्यक्तिलाई शहीद घोषणा गर्नुपर्ने र सम्पत्ति खोसिएकाको उचित प्रबन्धसहित क्षतिपूर्ति दिन माग गरे ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले धनकुटाको खोकु छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई शहीद घोषणा गरी रु दश÷दश लाख राहत दिने निर्णय गरेको थियो ।