देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, राजीनामा दिँदै

काठमाण्डौं, फागुन ३ ।
प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामा दिने तयारीमा लागेका छन् । उनले आफ्नो बहिर्गमनअघि देशवासीका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउन अबेर गरेपछि सरेको थियो ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बिहीबार बिहान ९ बजे यो सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक राखिएको र सकिएलगत्तै देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । ‘९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको मन्त्रिपरिषद् बैठक सकिएपछि प्रधानमन्त्रीज्यूले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ’, संयोजक परियारले भने । देउवा गत जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । तेस्रो चरणको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी लिएर चौथोपटक प्रधानमन्त्री बनेका देउवा यी दायित्व पूरा गरेर बाहिरिन लागेका हुन् ।