दृष्टीबिहिनलाई खाद्यान्न होईन, नगदै राहत

पोखरा, बैशाख ३१ ।
पोखराको नदीपुरमा बस्ने सुकबहादुर तामाङ आँखा देख्दैनन् । सामान्य बेला मान्छेका घरघरमै पुगेर अगरबत्ति बेच्छन् । तर २ महिनादेखि उनको अगरबत्ति बेच्ने काम पनि ठप्प छ । श्रीमति र २ छोराछोरी सहित ४ जनाको परिवार उनकै भरमा छन् । ‘बच्चाहरु खानेकुरा माग्छन्, दिन सक्दिन । अनि रुन्छन्,’ उनले भने, ‘लकडाउन भएपनि कहिलेकाहीँ अगरबत्ति लिएर निस्किन्छु । तर ब्यापार हुँदैन । रित्तै फर्किने हो ।’

सरकार र विभिन्न संघ संस्थाले दाल चामल जस्ता खाद्य सामग्री राहत पनि दिएका छन् । तर पकाउने ग्याँस छैन । ‘अर्काको कोठामा बस्दा दाउरा बाल्न पाईंदैन । पाएपनि दाउरा खोज्न कता जानु ? कोठाभाडा मागिरहेका छन् । त्यो पनि तिर्नैप¥यो,’ तामाङ भन्छन्, ‘देख्ने मान्छेहरु त जे गरेर पनि खान सक्छन् । हामीले के गरौं ? हामीप्रति सरकारले ध्यान दियोस् ।’

पोखरा ५ पस्र्याङमा बस्ने शेरजङ गुरुङ दोहोरी साँझमा मादल बजाउँछन् । उनको परिवार त्यही मादलले पाल्छ । लकडाउनभन्दा अघि नै उनले काम गर्ने दोहोरी साँझ बन्द छ । अरुले दिएको राहत पकाएर परिवार पालेका छन्, उनले । ‘ग्याँस सकिन लाग्यो । दाल चामल त संघ संस्थाले सहयोग गरिरहेको छ,’ उनी भन्छन्, ‘न तरकारी किन्ने पैसा छ । न घरबेटीलाई भाडा तिर्ने ।’

सुकबहादुर र शेरजङ जस्तै ४० दृष्टीबिहिनलाई काँग्रेस नेतृ सरस्वती गुरुङले नगदै राहत दिएकी छिन् । स्थानीय तहको चुनाव भएको ३ बर्ष पुगेको अवसरमा उनले विभिन्न ब्यक्तिहरुसँग समन्वय गरेर दृष्टीविहिनलाई सहयोग गरेकी हुन् । प्रत्येक ब्यक्तिलाई २ हजार ५ सय रुपैयाँका दरले सहयोग गरिएको उनले सुनाईन् ।

‘राहतमा खानेकुरा त सबैले दिएका छन् । तर के मा पकाएर खान्छन् ? त्यो कसैले सोचेनन्,’ उनी भन्छिन्, ‘त्यसैले केही सहयोग मिल्छ कि भनेर नगदै दिएको हो । मन लागेको कुरा किनेर पनि खान सक्छन् ।’ २०७४ सालमा भएको स्थानीय तहको चुनावमा उनी पोखरा महानगरमा उपमेयरको उम्मेद्वार थिईन् । सबै दृष्टीविहनको घरघरमै पुगेर सहयोग गरिएको उनले बताईन् ।

उनको अभियानमा नेपाली काँग्रेस पोखरा ५ धर्मस्थली टोल कार्यसमिति, जनसम्पर्क समिति हङकङका पूर्व सभापति तथा महासमिति सदस्य राम गुरुङ, काँग्रेस नेता तथा पोखरा महानगरका मेयरका उम्मेदवार रामजी कुवँरले पनि आर्थिक सहयोग गरेका छन् ।

राजनीतिक रुपमा भन्दा पनि मानवीय दायित्व पूरा गर्न अभियानमा साथ दिएको बताउँछन्, धर्मस्थली टोल कार्यसमितिका सभापति शुक्रराज पौडेल । ‘यो बेला राजनीति छोडेर दुखमा परेकाहरुको उद्धार गर्नुपर्छ । अहिले सबैभन्दा पीडामा अपांगता भएकाहरु छन्,’ उनले भने, ‘त्यसैले हाम्रो नजर उनीहरुसम्म पुग्यो । पुण्यको काम गर्न पाईयो ।’

सहयोग पाएपछि दृष्टीविहिनहरुले तत्कालको समस्या टरेको भन्दै खुशी ब्यक्त गरे । ‘कसरी चल्ने भन्ने चिन्ता थियो । नगदै सहयोग पाएपछि गाह्रो परेको गर्जो टार्न सकियो,’ दृष्टीविहिन सानु चौधरी भन्छिन्, ‘सहयोगीहरुलाई धेरै धन्यवाद छ ।’ अपांगता भएकाहरु विशेषगरी घरघरमा पुगेर तयारी सामान बेच्ने र विभिन्न हस्तकला तथा दोहोरी साँझहरुमा काम गरेर परिवार पाल्दै आएका छन् ।