दुईवटा सिम चलाएको निहुँमा मनोजले गरे श्रीमतिको हत्या

पोखरा, जेठ ३२ ।
दुईवटा सिम चलाएको निहुँमा तनहुँमा एकजनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भानु ५ मैवल घर भई दमौलीमा बस्दै आएका २१ वर्षीय मनोज विष्टले श्रीमती रंगिला भुजेलको हत्या गरेका हुन् ।

तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडामा कच्ची सडक हुँदै ओहोरदोहोर गर्नेले दुर्गन्ध आएको सूचना दिएपछि प्रहरीले खोजतलास गर्दा ह्युम पाइपमा प्लास्टिकको बोराभित्र रंगिलाको शव फेला परेको हो ।

हत्या गरेको अशंका गरी प्रहरीले तत्काल अनुसन्धान गरेको तनहुँ प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको अशंकमा पक्राउ परेका उनका श्रीमानले हत्या गरेको स्वीकारेका हुन् । मंगलबार रंगिलाका बुबा मनबहादुर भुजेलले तनहुँ प्रहरीमा रंगिलाको तस्बिरसहित छोरी बेपत्ता भएको निवेदन दिएका थिए ।

मनोजविरुद्ध जिल्ला अदालत तनहुँबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ । मनोज र मृतक रंगिला समाजिक सञ्जालमार्फत भेट भई प्रेम सम्बन्धमा थिए । उनीहरूले २०८० वैशाख १ गते विवाह गरेका थिए ।