दीपक मनाङ्गेको सांसद पद धरापमा (यस्तो छ नालिवेली)

काठमाडौं, माघ २ ।
२०६१ सालमा राजधानीको गुन्डागर्दी उत्कर्षमा पुगेको थियो । एरिया नै तोकेर गुन्डा नाइकेहरुले हप्ता असुल्थे। एउटाको क्षेत्रमा अर्काे जाँदा मात्र पनि ग्याङफाइट हुन्थ्यो । ठमेलमा दीपक मनाङे (राजीव गुरुङ) तथा चक्रपथ क्षेत्रमा मिलन चक्रे (मिलन गुरुङ)को राज थियो । चक्रेको आतंक बढेपछि मनाङेले काभ्रेली समूहका गणेश लामा लगायतलाई हात लिएर आफू बलियो बने । मनाङे र चक्रेको शत्रुता झन् झन् बढिरहेको थियो । दुवै समूह एक अर्काविरुद्ध आक्रमणको योजनामा थिए ।
पानीपोखरीस्थित चाइनिज चुफाङ रेस्टुरेन्ट चक्रेको प्रिय ‘अखडा’ थियो । त्यहाँ पाइने ‘ह्वेल मिट’ उनको ‘फेभरेट’ । त्यसैका लागि उनी नियमित जसो उक्त रेस्टुरेन्टमा जान्थे । जुन कुरा मनाङेको समूहलाई थाहा थियो । चक्रे त्यहाँ नियमित रुपमा आउने थाहा पाएपछि मनाङेको समूहले आक्रमण गर्ने योजना बनायो । दरबारमार्गको उडल्यान्ड होटलमा बसेर चक्रेलाई त्यही चाइनिज रेस्टुरेन्टमा आक्रमण गर्ने योजना बनेको थियो । मनाङेसहित काभ्रेली समूहका गणेश लामा, रमेश सुनुवार, विष्णु लामा, उमेश लामा लगायत बसेर आक्रमणको योजना बनाएका थिए । सोही अनुसार खुँडासहित उनीहरु उक्त रेस्टुरेन्टमा पुगेर चक्रेलाई आक्रमण गर्न सफल भए ।
आक्रमणमा चक्रेको देब्रे हात दुई टुक्रा भएको थियो । जुन पछि त्रिवि शिक्षण अस्पतालमा जोडियो । सोही घटनाका कारण चक्रेको एउटा हात सानो छ । १३ वर्षअघिको सोही ग्याङफाइट अहिले मनाङेका लागि ठूलो आपत बन्न पुगेको छ । सोही आक्रमणको मुद्दामा मंगलबार सर्वाेच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय हुने तत्कालीन पुनरावेदन अलालतको फैसला सदर गरेको हो । आक्रमणमा संलग्न काभ्रेली समूहले पनि सफाइ पाएको छ । घटना लगत्तै प्रहरीले मनाङे लगायतको समूहविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलायो । जसमा जिल्ला अदालतले २ वर्ष कैद सजाय सुनायो भने तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाई अरुलाई सफाइ दियो । जिल्ला अदालतको फैसलाअनुसार मनाङे २ वर्ष जेल बसिसकेका छन् । अब उनी थप ३ वर्ष जेल बस्नुपर्ने हुन्छ ।
त्यसपछि मनाङे पटक–पटक पक्राउ परे । राजनीतिक छहारीमा आफ्नो विगत लुकाउने प्रयास गरेर उनले अनेक हत्कण्डा अपनाई मनाङको प्रदेशसभामा चुनाव जिते । चुनाव जिते पनि सर्वाेच्चलाई भने जित्न सकेनन् । जसले संसद् भवन छिर्ने तयारीमा रहेका मनाङेका लागि जेलको बाटो तय भएको छ ।