दिदीबहिनीलाई सुतेकै ठाउँमा हानियो तेजाव, दुवैको अनुहार जल्यो

चन्द्रपुर, भदौ २७ ।
यहाँको चन्द्रपुर नगरपालिका–६ बजारटोलका दुई किशोरीमाथि अज्ञात व्यक्तिले तेजाव हानेका छन् । तेजाव आक्रमणमा परेका दुवैजना दिदी बहिनी हुन् । चन्द्रपुर नपा–६ बजारटोलकी १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मिता दासलाई मंगलबार राति करिब १२ बजे अज्ञात व्यक्तिले अनुहारमा तेजाव हानर भागेका हुन् ।

घरमा सुतिरहेको अवस्थामा दुवैजनाको अनुहारमा तेजावले आक्रमण गरी भागेको पीडित परिवारले जनाएको छ । तेजाव हानेर भाग्ने व्यक्तिको खोजी गरीरहेको प्रहरीले जनाएको छ । तेजाव आक्रमणबाट घाइते भएका दुवैजनालाई चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

अनुहारमा तेजाव लागेर घाइते दुवै दिदी बिहिनीको उपचारका काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा भइरहको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । राति करिब १२ बजे नचिनेको व्यक्तिहरु ढोका खोलेर घरमा पसेर दुवै छोरीको अनुहारमा तेजाव हानेर भागेको पीडित किशोरीहरुका बुवा जादोलाल दासले बताएका छन् ।