दामु अधिकारीलाई रवीन्द्रबहादुर प्रजुको खुलापत्र

पोखरा, असोज ६ ।
प्रिय मित्र दामुजी,
२०७५ असोज ५ गतेको समाधान दैनिक पत्रिकामा प्रकाशित वक्तब्यमा तपाईंको गुनासो, शिकायत, स्पष्टिकरण, सफाई, आदि जे नाम दिएपनि ध्यानाकर्षण भएको छ । प्रिय मित्र, स्वार्थपूर्ण भावना रहित प्रतिस्पर्धा गर्नु नै नेतृत्वको प्रतिक हो, यति त यहाँले बुझ्नुहोला भन्ने ठानेको थिएं । कसैको लहलहै र आवेशमा बहकिनु यहाँजस्तो ब्यक्तिको लागि शोभनीय कुरा हुँदै होईन । निर्वाचनको सन्दर्भमा १० जना पूर्व अध्यक्षहरुले प्रकाशित गर्नु भएको तथ्यपरक, यथार्थ विज्ञप्तीबाट हतासको मनस्थिति नबनाउनु होला । यो आक्रोश ब्यक्त गर्ने बेला होइन । पूर्वअध्यक्षहरु सहित सम्पूर्ण अग्रजहरुको योगदानलाई नकार्न सकिँदैन भन्ने तपाईंको भावना र भनाईसँग सहमत हुँदै फेरि पूर्वअध्यक्षहरु प्रति आक्रोश ब्यक्त गर्दा तपाईं आफ्नै भनाईप्रति आँफै सहमत नभएजस्तो लाग्यो ।

तपाईंले उल्लेख गर्नुभएको रहेछ, हाल सम्म २३ जना पूर्वअध्यक्षहरुले नेतृत्व गरिसकेको पोखरा उद्योग वाणिज्य संघ भनेर । म धेरै पटक घोत्लिएँ, सोचेँ, हेरेँ, पढेँ र फेरि औंला भाचें तर २३ जना पूर्वअध्यक्षहरु पु¥याउनै सकिन । त्यसमाथी २०११ सालबाट अध्यक्ष हुनुभएकाहरु क्रमशः श्री अमृतप्रसाद शेरचन, श्री टेकबहादुर ढेवाजु, श्री सर्वज्ञमान प्रधानाङ्ग, श्री युक्तप्रसाद प्रधान, श्री त्रैलोक्यनाथ श्रेष्ठ, श्री कृष्णप्रसाद कर्मचार्य र श्री रामचन्द्र बास्तोला ज्यूको देहावसान भइसकेको कुरा महासचिव भएर काम गर्नु भएको तपाईंलाई मैले सम्झाईरहनुपर्ने कुरा होईन । जुन हिसावले २३ जना पूर्व अध्यक्ष (जुन संख्या गलत छ) मध्ये १० जना पूर्व अध्यक्षहरुले विज्ञप्ती निकाल्नु कुनै नौलो कुरा होईन भनेर उल्लेख गर्नु भएछ ।

यसरी दिवंगत हुनुभएका पूर्वअध्यक्षहरुलाई आदर पूर्वक स्मरण गर्नुपर्नेमा उहाँहरुलाई समेत मुछेर अवमूल्यन गर्न खोज्नु भएको हो ? कृपया तपाईं जुन संस्थाको अध्यक्षको प्रत्यासी भएर चुनावी मैदानमा उत्रनु भएको छ, त्यही संस्थाका पूर्वअध्यक्षहरुको मानमद्र्धन गर्दा संस्थाकै प्रतिष्ठा र गरिमामाथी आँच पुग्छ भन्ने यहाँलाई हेक्का रहोस् । चुनावी नतिजा जेसुकै आओस् तर संस्था र ब्यवसायीको हितका लागि सतिशाल झैं उभिएर यस संस्थालाई यहाँसम्म ल्याईपु¥याउनु हुने २१ जना पूर्व अध्यक्षहरु मध्ये दिवंगत ७ जनालाई छोडेर बाँकी मध्येका १० जना विधि, विधान, सहमति र सहकार्यको पक्षमा उभिएर जसरि बक्तब्य जारी गरिदिनुभयो त्यसले मेरो र पोखरा उद्योग बाणिज्य संघकै विश्वसनीयतालाई कायम गरेको छ भन्ने ठानेको छु र यसै बक्तब्य मार्फत पूर्व अध्यक्षज्यूहरुलाई हार्दिक आभार पनि टक्र्याउन चाहान्छु ।

 

म जैले पनि योगदान पु¥याउनु भएका साथीहरुलाई अगाडी बढ्नु पर्छ, बढाउनु पर्छ भन्ने मान्यता राख्ने ब्यक्तिको नाताले तपाईं समेत अन्य मित्रहरुलाई अनुभव बटुल्दै योगदान पु¥याउनुहोस् भनेरै प्रोत्साहन गरिरहेको तपाईंलाई अवगत नै छ । त्यही कारणले तपाईं लगायतका साथीहरुले यसपटकको निर्वाचनमा मलाई सर्वसम्मत अध्यक्ष बनाउन लिखित सहमति नै गर्नुभएको होईन ? सोही सहमतिलाई तोडेर वडाध्यक्ष भएपछि सहमति उल्टिएको कुरा जसरी सार्वजनिक गर्दै वडाध्यक्षबाट राजीनामा दिन चुनौति दिनुभएको रहेछ, मेरो चिन्ता र चासोप्रति यहाँलाई सर्वप्रथम त मनैदेखि धन्यवाद दिन चाहान्छु ।

तर तपाईंको चुनौतिप्रति मेरो असहमति छ र मैले यहाँलाई अध्यक्षमा अघि सारेको कुनै लिखित वा मौखिक प्रमाण भए पेस गर्नुहुन मेरो प्रतिचुनौति छ । यदी यहाँले उक्त प्रमाण पेस गर्नुभए अध्यक्षको उम्मेदवारी म आँफै फिर्ता लिने र यहाँलाई सर्वसम्मत अध्यक्ष बनाउने प्रतिद्धता पनि ब्यक्त गर्दछु । निरन्तर १२ वर्षसम्म संस्थामा संलग्न भएको ब्यक्ति अध्यक्ष बनाउनुपर्छ भन्ने तपाईँ सहित साथीहरुले नै सहमति, समर्पण गर्नु भएकै हो । यसको फलस्वरुप म बरिष्ठ उपाध्यक्षको रुपमा रहँदा रहँदै वडा अध्यक्षको निर्वाचनमा भाग लिने–नलिने विषयमा सरसल्लाह हुँदा तपाईं लगायत सबै साथीहरुले उत्साह पूर्वक सहयोग गर्नु भएको कारणले म जनताको सेवा गर्न गएको हुँ । अब तपाईँ आफैँ भन्नुहोस्, यति लामो समय अविछिन्न रुपमा सेवा गरेको संस्थामा अध्यक्ष बन्न चाहना राख्नु मैले कुन अपराध गरें ? त्यसमाथी यसपछिको नेतृत्वमा तपाईंलाई नै सहयोग गर्ने कुरामा मैले सहमति गरेकै थिएँ ।

अन्य अवसर पाउँदा संघलाई लात हानेर ब्यक्तिगत फाइदा तर्फ लाग्नेसँग मेरो तुलना नै हुन सक्दैन भन्ने यहाँको अभिब्यक्ति अत्यन्तै हाँस्यास्पद छ । किनभने जनप्रतिनिधिको रुपमा म निर्वाचित भैसकेपछि पनि निरन्तर उत्तिकै जिम्मेवार पुर्वक पोखरा उद्योग बाणिज्य संघको कार्यकाल पूरा गरेको छु । र यहाँलाई यति त जानकारी हुनुपर्ने कि उद्योग बाणिज्य संघ कुनै लाभको पद होईन र ब्यक्तिगत फाईदा लिन पनि मिल्दैन । फेरि वडाअध्यक्षको रुपमा कार्यरत रहँदा रहँदै पोखरा महानगरपालिकाको नीतिका बिषयमा अध्यक्ष र तपाईँहरुलाई पनि औपचारिक–अनौपचारिक रुपमा निरन्तर जानकारी गराएकै हुँ ।

त्यसताका पोखरा उद्योग वाणिज्य संघ र पोखरा महानगरपालिका बीच सम्बन्ध विकसित गर्न र निर्णय गर्न सजिलो र ब्यवहारिक हुने कुरा तपाईंहरुबाट ब्यक्त भएकै हो । त्यसको बाबजुद बेमौसमी बाजाको रुपमा यो वडाअध्यक्ष हो, कसरी समय मिलाउला भनेर भन्दै हिंड्नु भएको, टिप्पणी गर्नु भएको कुराले पनि ध्यानाकर्षण भएको छ । निर्वाचित जनप्रतिनिधीहरुले अन्यत्र ठाउँमा सेवा मुलक काम समेत गर्न नहुने जस्ता टिप्पणीले प्रधानमन्त्री देखि वडा सदस्यसम्म निर्वाचित हुनुभएकोलाई अपमान गर्ने धृष्टता गरिरहनु भएको छ । कृपया जनताद्धारा निर्वाचित सबै जनप्रतिनिधिहरुलाई पनि सम्मान गर्ने बानी बसाल्न आग्रह गर्दछु ।

संस्थामा राजनीति छिर्न दिन्न भन्ने यहाँको जुन प्रतिवद्धता छ, त्यसले भने मलाई अचम्ममा पारेको छ । जनप्रतिनिधिका रुपमा काम गरिरहेको मान्छे कुनै राजनीतिक दलको हुँदैन, साझा मान्छे हुन्छ । बरु कुनै एक राजनीति पार्टीको भ्रातृ संगठनका रुपमा रहेको नेपाल राष्ट्रिय बाणिज्य संघ भन्ने संस्थाका तपाईं लगायत साथीहरु चुनावी मैदानमा उत्रँदा चाहीँ राजनैतिक रंग र प्रभाव प्रवेश गरेको कुरा कसैसामु छिपेको छैन । त्यसैले आम उद्योगी ब्यवसायीलाई नै भ्रमित पार्ने गरि राजनीतिका चुनावी प्रोपोगाण्डाले यहाँहरुलाई नै बढी ईंगित गरेको होईन र ?

पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा पहिलेपनि आम पोखरेलीहरुको चासो रहेकै थियो । हिजो पनि सांसद सदस्य, मन्त्रीहरु सहित जनप्रतिनिधिहरुले चासो लिएकै हुन् । यसपटक पनि तपाईँले उल्लेख गर्नु भएको प्रदेश सांसद संलग्न भयो भन्ने कुरा कुनै नयाँ होइन । केन्द्र तथा प्रदेशका मन्त्रीहरु, सांसद लगायत सरकारी पदाधिकारीहरु, दलका नेताहरु पनि यस पटकको ३२ औं महाधिवेसनमा रुची र चासो लिइरहनु भएको छ । यसलाई अन्यथा लिनु हुँदैन । बरु जेठो संस्थाको रुपमा कार्यरत पोखरा उद्योग वाणिज्य संघ प्रति देखाएको आत्मियता हो भन्ने ठान्नु पर्दछ ।

हामी सबैलाई के मात्र चिन्ता हो भने, पोखरा उद्योग वाणिज्य संघलाई कमजोर पार्न, भूमिका विहिन बनाउन, अस्तित्वलाई गौण तुल्याउन, संगठित रुपमा नै दलको भ्रातृ संगठनको रुपमा रहेको राष्ट्रिय वाणिज्य संघ नामक संस्थाबाट हस्तक्षेप गर्ने जुन दुष्प्रयास भइरहेको छ, त्यो विषयमा हामी सबै गम्भीर भएर सोचौं र पोखरा उद्योग वाणिज्य संघलाई कमजोर पार्ने कामको विरुद्धमा एकै ठाउँमा उभिन पनि तपाईं लगायत सबै ब्यवसायी साथीहरुलाई आह्वान गर्दछु । धन्यवाद ।।
सदा स्नेहका साथ–तपाईंको मित्र
रवीन्द्रबहादुर प्रजु