दाङमा बस दुर्घटना–मृत्यु हुनेको संख्या १६ पुग्यो

दाङ, पुस ६ ।
तुलसीपुर नगरपालिका(३ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । दुर्घटनामा ५ जना पुरुष र ५ जना महिला गरी १० जना घाइते भएको र उनीहरुलाई राप्ती उपक्षेत्रीय अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएको छ ।

रातिको समय भएकोले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उप–महानगरपालिका ३ राम्री भन्ने स्थानमा बस दुर्घटना भएको थियो ।

कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्युट घोराही दाङको बस शैक्षिक भ्रमणका लागि सल्यान पुगेर फर्कँदै गरेको बा४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेहरुमा जुम्ला तातोपानी गाउँपालिका १४ बस्ने १८ वर्षीय हिमाली हमाल, चन्दनाथ गाउँपालिका ३ बस्ने १६ वर्षीय शेन्द्र खत्री, घोराही उममहानगरपालिका १५ रतनपुर बस्ने १७ वर्षीया समीक्षा रोकाया, अछाम मंगलसेन नगरपालिकाको १८ वर्षीय क्रम भण्डारी, रुकुमको त्रिवेणी गाउँपालिका ३ बस्ने १६ वर्षीय प्रेम बहादुर खड्का, घोराही उपमहानगरपालिका १९ स्यूजा बस्ने १७ वर्षीया मेनुका रिजाल, जुम्ला चन्दनाथ २ बस्ने १७ वर्षीय जीवन भण्डारी, १६ वर्षीया पर्शा रोकाया, अछाम मंलगसेनको १९ वर्षीय यूवराज ढुंगाना, रुकुम सानोभेरी ३ बस्ने १६वर्षीया रोजिना पुन रहेका छन् ।