दाइजोमा २ लाख नदिँदा नेपाली चेलीको भारतमा हत्या !

विराटनगर, असोज २८ ।
दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ । विराटनगर(११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो । उनको शव भारतको अररिया जिल्लास्थित परवाना नदीको मिरगन्ज पुल नजिकै हत्या गरी फालेको अवस्थामा शनिबार फेला परेको थियो । शव स्थानीयले खोलामा देखेपछी जोगवनी स्थित भारतीय प्रहरीलाई खबर गरेका थिए । शव भारतमानै पोष्टमाटमका लागि राखिएको छ । पोष्टमार्टमपछि नेपाल ल्याएर दाहसंस्कार गरिने मृतकका बुवा मनिकचन्द सहनीले बताए ।

रञ्जनाको गत फागुनमा भारत अररिया ताकियाका २५ वर्षीय भिम बहरदारसँग मागी विवाह भएको थियो । विवाहमा माइतीले थोरै दाइजो दिएको भन्दै सोही समय देखी बहरदार परिवारले छोरीलाई मानसिक र शारीरिक यातना दिनेगरेको रञ्जनाका बुबा मनिकचन्द सहनीले बताए । ‘छोरीलाई विवाहपछि दाइजोको कुरामा धेरै यातना दिएछन्, घरमा रुदै सुनाउथी, अहिले हत्या गरेर फालेछन्,’ सहनीले भने ।

छोरीलाई दैनिक यातना दिएपछि माइती पक्षले केही समय अगाडि मात्र मोटरसाइकलसमेत किनेर दिएको सहनीले बताए । ‘हामीले केही दिन अघि मात्र ९० हजारको मोटरसाइकल किनिदिएका थियौं, फेरि छोरीका सासु ससुरा र श्रीमानले दुई लाख पैसा पसल गर्न भनेर मागे, त्यो दिन नसकेपछि यसरी हत्या भएको हो,’ उनले भने ।

जोगबनी प्रहरी थानाका प्रमुख अफताब अहमदका अनुसार हत्यामा संलग्न रञ्जनाका श्रीमान सहित चार जनालाई नियन्त्रण लिएको छ । पक्राउ पर्नेमा श्रीमान् भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार, छिमेकी शिवानन्द मुखिया रहेका छन् । यो खबर अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।