दशैंमा काठमाण्डौंलाई छ हजार बस

काठमाण्डौं, भदौ २९ ।
यसपाली दशैंमा दैनिक छ हजार सार्वजनिक गाडीले यात्रु ओसार्ने छन् । दशैंको बेला धेरै मान्छे चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक ६ हजारभन्दा धेरै बसहरुले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी सार्वजनिक नम्बर प्लेटका सवारीसाधन थप गर्ने गरेपनि यो वर्ष नयाँ बस थपिएका छैनन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बैंकको महँगो ब्याज र बाटोको दुरवस्थाका कारण नयाँ बस थप गर्न नसकेको बताए । महासंघले गत वर्षमात्र ठूलो संख्यामा सार्वजनिक यातायात थप गरेको थियो । यसबाहेक दशैंमा पर्यटकीय बस, निजी गाडीमा पनि यात्रु घर जानेछन् ।
यो वर्ष २०÷२१ लाख मानिस दशैं मनाउनका लागि घर जाने यातायात व्यवस्था विभागको अनुमान छ । यसबर्ष १५÷१६ लाख मान्छे सार्वजनिक गाडीमा र अरु निजी सवारीसाधनमा घर जाने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । अहिले काठमाडौँको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, पुरानो बसपार्क, कलंकी लगायतका स्थानबाट लामो तथा छोटो दुरीका गाडीहरु छुट्ने गरेका छन् । दशैंलाई लक्षित गरेर सरकारले भदौ २७ गतेदेखि लामो तथा मझौला रुटको टिकट बुकिङ खुला गरिसकेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले दशैंको समयमा उपत्यका भित्रिने तथा बाहिरिने ४ वटा नाकाबाट दसैंको समयमा दैनिक एक लाखभन्दा बढी मानिस बाहिरिने बताए । महाशाखा, विभाग लगायत विभिन्न संघसंस्थाको सहयोगमा दसैंमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको छ ।