दयाशंकर स्मृति पत्रकारिता पुरस्कार पौडेललाई

पोखरा, असोज ८ ।
दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार अग्रज पत्रकार पूण्य पौडेललाई अर्पण गरिएको छ । शनिबार बिशेष कार्यक्रम बीच उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले पुरस्कार अर्पण गरे । प्रजातन्त्रका सेनानी स्व. दयाशंकर पालिखेका परिवारले स्थापना गरेका तथा नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको यो पुरस्कार १८ औं ब्यक्तिको रुपमा पौडेललाई प्रदान गरिएको हो । तीन दशक देखि लगातार पत्रकारितामा क्रियाशिल पत्रकार पौडेल पोखरापत्र दैनिकमा प्रधान सम्पादकको रुपमा कार्यरत छन् । २०४५ सालमा दृष्टि साप्ताहिकवाट पत्रकारिता सुरु गरेका पौडेल छलफल, वुधवार, जनआस्था, रेडियो नेपाल, पोखरा हटलाईन, हिमाली आवाज, हिमचुली एफ.एम लगायतका छापा तथा विद्युतिय संचारमाध्यममा काम गरिसकेका छन् । पुरस्कार असोज ७ गते बिशेष कार्यक्रमका साथ उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले अर्पण गर्नेछन् । पुरस्कारको राशी ३३ हजार तीन सय ३३ रुपैयाँ छ ।
पुरस्कृत भएपछि पत्रकार पौडेलले पुरस्कारले आँफुलाई पत्रकारितामा निरन्तर लाग्ने उत्प्रेरणा मिलेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, एमाले सल्लाहकार परिषद्का केन्द्रिय उपाध्यक्ष खगराज अधिकारी, माओबादी केन्द्रका कास्की इञ्चार्ज राजकाजी गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष तथा सल्लाहकार बद्रिबिनोद प्रतिक, पुरस्कारदाताको परिवारबाट सुनयना पालिखे, प्रतिभा छनौट समितिका संयोजक तथा पत्रकार महासंघका पुर्व अध्यक्ष कुशुमकेशव पराजुली, नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष गंगाधर पराजुली, लगाएतले बोलेका थिए । महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद तिमिल्सेनाले गरेका थिए भने उपाध्यक्ष त्रिभुवन पौडेलले स्वागत गरेका थिए ।