थप ८ दिन लकडाउन गर्ने निर्णय, अवज्ञा गरे ६ महिना जेल

काठमाण्डौं, चैत १६ ।
थप ८ दिन लकडाउन गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चैत २४ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । चैत १८ गते विहान ६ बजेसम्म लकडाउन यसअघि कै निर्णयबाट जारी छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने सुझाव दिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।

भारत या तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बस्न नमान्ने र लकडाउनका बेला कामै नपरी सडकमा लखरलखर हिँड्नेलाई सरकारले कडा कारबाही गर्ने भएको छ । लकडाउन झन् कडा पार्ने निर्णय गर्दै क्वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने तयारी छ ।

ऐनमा आदेश अपहेलना गर्ने व्यक्तिलाई एक सय रूपैयाँ जरिवानादेखि १ महिनासम्म कैद र अधिकृत व्यक्तिहरूलाई काममा बाधा र्पुयाउनेलाई ६ महिना कैद, ६ सय रूपैयाँ जरिवा या दुवै हुन सक्ने व्यवस्था छ । कुन कारबाही गर्ने भन्ने निर्धारण प्रमुख जिल्ला अधिकारीको तजबिजमा हुने व्यवस्था ऐनमा छ ।