त्रिशूलीमा जिप बेपत्ता सिँचाइ सचिवको शव फेला

धादिङ, माघ २७ ।
त्रिशूली नदीमा जिपसहित हराएकामध्ये एक जनाको शव फेला परेको छ । नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादवसहित चढेको बा २ झ ३१४० नं को जिप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा आज बिहान दुर्घटनामा परेको थियो । हराएकामा सचिव यादवलाई मृतावस्थामा फेला पारिएको छ । सशस्त्र प्रहरी गोताखोरको टोलीले उनको शव पानीबाट बाहिर निकालेको हो । बेपत्ता भएका उनका छोरा र एक किशोरी भने अझै भेट्टिएका छैनन् । जिपलाई डोरीले बाँधेर अड्काइएको प्रजिअ श्याम भण्डारीले जानकारी दिए ।
नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जिपमा मन्त्रालयका सचिव यादव, उनका छोरा सञ्जय र एक किशोरी सवार थिए । चालक निराजन यादव भने घाइते भएका छन्। अरु बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिए । घाइते चालकलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।