त्रिशुलि दुर्घटनाका घाईतेको पोखरामा उपचार, मनिपालमा छैन सिटी स्क्यान

पोखरा, साउन ११ ।
काठमाण्डौंबाट स्याङजा वालिङका लागि छुटेको बस चुम्लिङटार स्थित त्रिशुलीमा खस्दा घाईते भएकालाई उपचारका लागि पोखरा ल्याईएको छ । एन्फा स्याङजाका पूर्व अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य लालबहादुर ज्वारचनलाई उपचारका लागि पोखरा ल्याईएको हो ।

उनको यतिबेला फिस्टेल अस्पतालमा उपचार भैरहेको छ । सुरुमा उपचारका लागि मनिपाल शिक्षण अस्पतालमा लगिएपनि सिटी स्क्यान मेसिन नभएपछि फिस्टेल लगिएको हो । ‘यति ठूलो अस्पतालमा सिटी स्क्यान छैन । विरामी इमरजेन्सी परेर ल्याउँदा त गाह्रो पो हुने रहेछ, उनका आफन्तले भने–तत्कालै सिटी स्क्यानको प्रबन्ध गरिनुपर्छ ।’ ज्वारचन अहिले खतरामुक्त रहेको परिवार श्रोत बताउँछ ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको र २२ जना घाइते भएको समाचार छ । तर अझै घटनाको क्षतिबारे यकिन हुन सकेको छैन । घाइतेमध्ये केहीलाई उपचार गर्न पोखरा ल्याईएको छ भने केहीको भरतपुरमा उपचार भैरहेको छ ।