त्रिभुवन एयरपोर्ट स्तरोन्नति गर्न कम्पनी छनोट

काठमाण्डौं, असोज ५ ।
स्पेनिस कम्पनी सान्जोसेसँग ठेक्का सम्झौता रद्द भएको करिब १० महिनापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नतिको आंशिक कामका लागि कम्पनी छनोट भएको छ । विमानस्थल स्तरोन्नति अन्तर्गत एनसीबी २ नम्बरको काममा लागि नेपाली कम्पनी शर्मा प्रेरा आशिष जोयन्ट भेन्चर छनोट भएको हो। कम्पनीले आगामी २१ महिनाभित्र ७७ करोड रुपैयाँमा इन्टरनेसनल टर्मिनल भवन निर्माण गरिसक्नुपर्छ ।
सान्जोसेसँग ठेक्का रद्द भएपछि सरकारले विमानस्थल विस्तारमा एकै कम्पनीले काम गर्न नसक्ने भन्दै चार तहमा वर्गीकरण गरेर काम गर्ने निर्णय गरेको थियो । सोहीअनुरूप नेपाल नागरिक उड्डयन प्राधिकरणले एनसीबी १, एनसीबी २ र एनसबी ३ का लागि गत फागुन ७ गते राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीले आवेदन दिन सक्ने गरी बोलपत्र आह्वान गरेको थियो ।
बोलपत्र आह्वानमा एनसीबी २ अन्तर्गत रहेको इन्टरनेसनल टर्मिनल भवन विस्तारका लागि १९ वटै कम्पनीले फाराम लगे पनि टेन्डर दाखिलको अन्तिम दिनसम्म चारवटाले मात्र प्रस्ताव पेस गरेका थिए । यसमा कन्टिच लुम्बिनी जेभी, सांघाई कन्स्ट्रक्सन, टुन्डी रसुवा जेभी र शर्मा प्रेरा आशिषले टेन्डर दाखिल गरेका थिए । यीमध्ये प्राविधिक रूपमा कन्टिच लुम्बिनी जेभी र शर्मा प्रेरा आशिष मात्रै छनोट भएका थिए। प्राविधिक रूपमा छनोट भएका दुई कम्पनीमध्ये शर्मा प्रेरा आशिषसँग २१ महिनाभित्र अन्तर्रा्ष्ट्रिय यात्रुको आगमन र प्रस्थान हुने भवन निर्माणका लागि सम्झौता भएको प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठले जानकारी दिए । इन्टरनेसनल भवन विस्तारका लागि निर्माण कम्पनीले ७७ करोड रुपैयाँ पाउनेछ ।