तेरो घरमा कम्युनिष्ट पसोस्–सांसद आचार्य

पोखरा, असोज १ ।
नेपालको इतिहासमा ३ वटा सरकार विशेष सम्झन लायक छन्, जनताले विशेष अपेक्षा गरेको सरकार । इतिहास र वर्तमानले सुनौलो अवसर प्रदान गरेको सरकाार । २०१५ सालको विचार र दर्शनको एउटा नेपाली मोडलका एकजना अग्रज विपि कोइरालाको नेतृत्वमा वनेको दुई तिहाई जनमत प्राप्त सरकार, दोश्रो राजतन्त्रको अन्त्यसँगै संविधानसभाको निर्वाचन मार्फत सहज ढंगबाट नपत्याईएको र तत्कालीन राजनैतिक शक्तिहरुले कुनै आँकलन नै नगरेको राजतन्त्र अन्त्यको प्रमुख हिस्सेदार शक्ति नेपाली माओवादी आन्दोलनका उक अग्रज क. पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बनेको सरकार र तेश्रो चाहीँ झापा आन्दोलनका एक नायक क. खड्कप्रसाद ओलि र माओवादी जनयुद्धका अर्का नायक क. प्रचण्ड नायक स्क्वायरको गठजोडबाट ब्राकेट कम्युनिष्ट पार्टी बन्छ र त्यस पार्टीका एकजना अध्यक्ष क. केपी होली नेतृत्वको झण्डै दुई दुई तिहाई जनमतको सरकार । यी तीनवटै सरकार नेपालको इतिहासमा एउटा एउटा गुणात्मक परिवर्तित परिस्थितीबाट बनेको सरकारहरु हुन् । यी सरकारबाट जनताले ठूलो अपेक्षा गरेर भारी जनमत प्रदान गर्दै आए । तर इतिहासका दुई सरकारसँग जनताले निराशा बाहेक केही पाएनन्, अव बाँकी वर्तमान सरकार छ ।

सम्माननीय प्रधानमन्त्री केपी ओलि नेतृत्वको सरकारले भारतको विकल्प चाईना दिएको छ । मोटरको विकल्प रेल गुडाउँछु भनेको छ । डुंगाको विकल्प झण्डावाल पानी जहाज कुदाउँछु भनेको छ । ग्याँस सिलिण्डरको विकल्प घरघरमा पाईपबाट ग्याँस दिन्छु भनेको छ । बृद्धाहरुलाई अव बसेर खाृउ ५ हजार भत्ता दिन्छु भनेको छ । बेरोजगार युवाहरु विदेशमा भाडा माझ्न नजाउ म बेरोजगार भत्ता दिन्छु भनेको छ । अनि बसिबसी खाउ जनता म समाजवाद ल्याउँछु भनेको छ । आहा कति राम्रा कुरा, दुरदर्शी सरकार, कति सुन्दर सपना । यसरी हेर्दा नराम्रो केही छैन, यही सरकारलाई संघीयताको कार्यान्वयनको प्रमुख जिम्मेवारी दिएको जनताले सातवटा प्रदेशमा ६ प्रदेश दुई तिहाइको सरकार बनेका छन् । यो सरकारले चाहेमा यो माटोमा सुनै फलाउन सक्ने तागत र शक्ति छ । यी सबै सपनाहरु कहिले यथार्थमा बदलिन्छन् यसको ब्यग्र प्रतिक्षामा छन् ।

सरकार निर्माण भएको सात महिना वित्दैछ । सात महिनामा नेपालकै सन्दर्भमा केही चमत्कारीक काम भईहाल्छ भन्ने हामीलाई पनि लाग्दैन । तर हामीलाई यत्ति लागेको छ कि राम्रो गर्न नसकेपनि नराम्रो नगरोस् । सिण्डिकेटबाट आहात भएका जनताले राहात महशुस गर्दै थिए । ३३ किलो सुन काण्डका योजनाकारहरु कानुनको कठघरामा उभ्याउने कुरामा विश्वस्त थिए जनता । कञ्चनपुरको निर्मला पन्त घटना प्रकरणलाई उजागर गर्न सक्षम हुनेछ भन्नेमा ढुक्क थिए । बर्षौंदेखि काम नगरी सत्ता र शक्तिको भक्तिमा लागेका ठेकेदारहरुलाई कठालोमा समातेर काम गराउने कुरामा आश गरी बसेका थिए जनता ।

हत्या, बलात्कार, सत्ता र शक्तिको दुरुपयोग बढ्दैछ । काम नगर्ने ठकेदारहरुलाई न काम लगाईन्छ न टेण्डर खारेज गरिन्छ । न कारबाही गरिन्छ । सुन काण्डका दोषीहरु लहरो पहरो खस्ने डरले धमाधम सम्मानित अदालतको आडमा उन्मुक्ति दिईदैछ । बलात्कार र अपराधका घटनालाई नियोजित र सरकार असफल बनाउने संगठीत अपराध भनिँदैछ । करको दायरा बढाएर नेपालको विकास गर्नुपर्नेमा सोलोडोलो करको दर बढाएर कम्युनिष्ट सरकारको नमुना काम भनिँदैछ । विकासका पुर्वाधारको काम नगरी उल्टो जनता थर्काउँदै हिड्नेलाई नायकहरुकै वरिपरी राखेर संरक्षण दिईँदैछ । अधिकारको विकेन्द्रिकरणको सैद्धान्तिक मान्यता बोकेको संघीयता एकाधिकार वादको मुखौटो बनाइंदैछ ।

समाजवादको सपनालाई जनताको भविष्यमाथी खेलवाड गर्ने हतियार बनाईंदैछ । यसो गर्दै जाँदा जनताको आशा निराशामा बदलिँदैछ । त्यसैले मलाई भन्न मन लाग्छ, हिजो १५ सालमा विपीको सपनामाथी खेलवाड गरेर केही उच्छृङखल तत्वले बदमासी गर्दा जनताले गाली गर्न प्रयोग गरेको तेरो घरमा काँग्रेस पसोस भन्ने वाक्य झापा आन्दोलन र जनयुद्धको २ नायक मिलेर बनेको सरकार केपी सरकारका सत्ता र शक्तिको दुरुपयोग अनि फोस्रा आडम्बरी गफलाई पत्याउन र देख्न बाध्य जनताले अवका दिनमा तेरो घरमा कम्युनिष्ट पसोस भनि गाली गर्ने दिन नआओस् । वर्तमान सरकार प्रति यही शुभेच्छा प्रकट गर्न चाहान्छु । धन्यवाद, नमस्कार ।
गण्डकी प्रदेशसभामा सोमबार नयाँ शक्तिका सांसद हरिशरण आचार्यको मन्तब्य ।