तुलसी टंकादेवी स्मृति पत्रकारिता पुरस्कार जमुना शर्मालाई

पोखरा, माघ १६ ।
यस वर्षको तुलसीप्रसाद टंकादेवी स्मृति पत्रकारिता पुरस्कार जमुना वर्षा शर्मा लाई प्रदान गरिने भएको छ । पोखरा–५ प्रस्याङ निवासी सुवर्णप्रसाद कोइराला तथा उनको परिवारजनवाट स्थापित पुरस्कारवाट हरेक वर्ष १ जना पत्रकार पुरस्कृत हुन्छन् । अग्रज पत्रकार पुण्य पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसलाई पत्रकार महासंघ कास्कीको मंगलवार वसेको कार्यसमिति वैठकले अनुमोदन गरेको हो । समितिमा रमेश पौडेल, माधव पनेरु तथा महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सना पदेन सदस्य थिए । यही माघ २७ गते शनिवार एक कार्यक्रम आयोजना गरि वर्षालाई उक्त पुरस्कार अपर्ण गरिने महासंघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पुरस्कारको राशी नगद २० हजार १, दोसल्ला तथा सम्मानपत्र रहेको छ । उनी हाल पोखरा एक्सप्रेस पाक्षिकको प्रधानसम्पादक, देशसंचार मल्टिमिडिया अनलाईन तथा रेडीयो जननीमा पनि आवद्ध छिन् । २०५७ सालमा धवलप्रभात मासिकवाट पत्रकारिता सुरु गरेकी वर्षाले माछापुच्छ्रे एफएम, पोखरापत्र दैनिक, महिला खवरडटकमको क्षेत्रीय संवाददाताको रुपमा काम गरिन् ।
वर्षा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्सद, संचारिका समुह पश्चिमाञ्चलको अध्यक्ष तथा प्रेस चौतारीको केन्द्रीय सदस्य हुन् । पुरस्कारवाट यस अघि मरणोपरान्त स्व. उमा सिँह, रामकृष्ण ज्ञवाली, रीता गुरुङ, ईश्वरी न्यौपाने, गणेश पाण्डे, दीपेन्द्र श्रेष्ठ, ऋषि धमला र माधव पनेरु पुरस्कृत भईसकेका छन् ।