तीन वर्षमा २० हजार बेपत्ता

काठमाण्डौं, माघ ९ ।
नेपालमा दैनिक १७ नागरिक बेपत्ता हुन्छन् । प्रहरीको तथ्याकं अनुसार ३ बर्षमा देशभरबाट १८ हजार ९१८ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या धेरै छ । हरेक वर्ष बेपत्ता हुनेको संख्या बढिरहेको छ । बेपत्ता हुनेमा सबैभन्दा धेरै महिला छन् । तीन वर्षको अवधिमा १० हजार २८३ महिला हराएका छन् । बेपत्ता हुने महिलाको संख्या ५४.३५ प्रतिशत छ । महिलापछि धेरै बालक हराएका छन् । यस अवधिमा तीन हजार १७९ बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वयस्क पुरुषको संख्या पनि धेरै छ । आर्थिक वर्ष ०७१÷७२ देखि ०७४÷७५ सम्म मुलुकभरिबाट तीन हजार १३१ वयस्क पुरुष बेपत्ता भएका छन् । तुलनात्मक रूपमा बेपत्ता हुने बालिकाको संख्या भने केही कम छ । तीन वर्षमा दुई हजार ३२५ बालिका बेपत्ता भएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपानेले बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष बढिरहेको बताए । भेटिएकाले प्रहरीमा रिपोर्ट नगर्ने र लुकेर बस्ने भएका कारण बेपत्ता हुनेको संख्या बढ्न पुगेको उनको भनाइ छ । ‘तथ्यांक हेर्दा बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष बढेको देखिन्छ । जब मान्छे हराउँछन्, तत्काल प्रहरीमा खबर गर्छन् । तर, भेटिएको खबर गर्दैनन् । कतिपय मान्छे आफैँ लुकेर बसेका हुन्छन् । विशेषगरी महिलामा यस्तो समस्या देखिन्छ,’ नेउपानले भने, ‘उनीहरू रोजगारका क्रममा कुनै पेसामा संलग्न हुन्छन् । तर, त्यो पेसा सार्वजनिक गर्न चाहँदैनन् । त्यसवेला उनीहरूले आफ्नो वास्तविक परिचय ढाँट्छन् । यसले पनि बेपत्ता हुनेको संख्या बढेको देखिन्छ ।’