तीन बालिका पाँच दिनदेखि बेपत्ता

सुर्खेत, पुस १५ ।
सुर्खेतमा तीनजना बालिका ५ दिनदेखि बेपत्ता भएका छन् । सिम्ता गाउँपालिका ९ खानीखोला स्थित नेपाल राष्ट्रिय माविमा अध्ययनरत ति बालिकाहरु पुस १० गतेदेखि हराएका हुन् ।

कक्षा ९ मा अध्ययनरत १४ बर्षकी नशा सिंह, १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री बेपत्ता भएको सुर्खेत प्रहरीका प्रबक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनीहरुको खोजी भैरहेको छ ।

सल्यानको सल्लीबजारबाट मिलन विकको गाडीमा चढेर निस्केका उनीहरु अहिलेसम्म सम्पर्कमा नआएको बताईएको छ । अहिले काठमाडौँ, बुटवल, नेपालगञ्जलगायत नेपालका सबै प्रहरी चौकीमा तीनै बालिकाको फोटोसहितको हुलिया दिएर खोजतलास भइरहेको उनले बताए ।

पुस १० गते विद्यालयबाट हाफटाइममा घर आएर म्याडमले गाली गर्नुहुन्छ भन्दै हतारमा स्कूल गएकी छोरी अहिलेसम्म नफर्केकी निशाकी आमा भगवती सिंहले बताइन् । प्रहरीले मिलन विकलाई सोधपुछ गर्दा उनीहरुलाई सल्लीबजारबाट निःशुल्क आफ्नो गाडीमा छिन्चु ल्याएको र बुटवल फुपूकोमा जान्छौँ भनेपछि छिन्चुबाट १९०४ नंको बसमा नेपालगञ्ज चढाइदिएको बताएका छन् ।

उनीहरुलाई नेपालगञ्ज लैजाने १९०४ नंको बसमा प्रहरीले बुझ्दा बालिकाले बुटवल जाने भनेकाले कोहलपुर चौराहमा बुटवलका लागि छुट्न लागेको गाडीमा छोडिएको बताईएको छ । यता बालिकाका परिवारले आफ्ना नानीहरुलाई जसरी पनि घर फर्काउन आग्रह गरेका छन् ।