तिब्बति शरणार्थीलाई नागरिकताः विदा लिएर प्रशासनका कर्मचारी भागे

पोखरा, भदौ ११ ।
जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको छ प्रहरीले । तिब्बति शरणार्थीलाई नागरिकता दिन सघाएको आरोप लाग्ने ५ जना अहिले कास्की प्रहरीको पक्राउ लिष्टमा छन् । तर प्रहरीले प्रशासनमा पक्राउ पुर्जी पठाउनुभन्दा अघिदेखि नै सबै कर्मचारी फरार भएका छन् ।

कास्की प्रशासनकाा अधिकृत ऋषिराम आचार्य, नायवसुब्बा डाँसीराम लामिछाने, खरिदार परशुराम पौडेल र रामचन्द्र थापा छन् भने पोखरा १८ नम्बर वडाका पूर्व स्थानीय पञ्जिकाधिकारी विष्णुप्रसाद पौडेल पनि छन् ।

फरार कर्मचारीहरुलाई विभिन्न मितिमा पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए । ‘खोजी भैरहेको छ । अहिलेका मितिसम्म एकजना पनि भेटिएका छैनन्,’ उनले भने, ‘जिल्ला प्रशासनकै जाहेरी हो । मुद्धा कहाँ पुगेको छ भनेर उनीहरुले बुझिरहेका थिए । हामी खोज्न जाँदा प्रशासनमा भेटिएन । उपस्थित गराईदिन पत्र पठाएपछि विदामा बसेको जानकारी आयो ।’

उनका अनुसार सबैजना पक्राउ पुर्जी जारी गर्नुअघि नै विदामा बसेका थिए । पोखरा २५ हेम्जास्थित टासी पाल्खेल शरणार्थी सिविरमा बस्ने सरु थापा मगर र तासी आङ्मो थापामगरलाई वशंजको आधारमा नागरिकता दिलाउन उनका हजुरबुबा पोखरा १८ का लेखबहादुर थापाले आफै बाबु बनेर झुठो विवरण पेस गरेका थिए ।

पोखरा १८ का ५ जनालाई सर्जमिन मुचुल्कामा दस्तखत गर्न लगाएर वडा मार्फत प्रशासनमा सिफारिस लगिएको थियो । सोही सिफारिसका आधारमा कर्मचारीले समेत हेलचेक्र्याईं गरेर नागरिकता दिए । तर सबैले कमिसन लिएर गलत काम गरेको आरोप छ । यद्यपी यसबारे प्रमाणीत भैसकेको छैन । सनाखत गर्ने लेखबहादुर, नागरिकता लिने २ तिब्बती युवती र सनाखत गर्ने ५ जना साउन २४ गते पक्राउ परेका थिए ।

वडाध्यक्ष रणबहादुर थापा, वडा सदस्य ज्ञानबहादुर थापा र स्थानीय पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई पक्राउ गरेर सामान्य अनुसन्धानपछि महानगरकै रोहवरमा छोडिएको छ । पौडेललाई चाहीँ परिवारको जिम्मा जमानीमा छोडिएको हो । प्रशासनले जेठ २६ गते र असार ६ गते जारी भएका २ नागरिकता खारेज गरिसकेको छ ।