तालवाराही स्कुलको ५ रोपनी जग्गा झ्वाम (पढ्नुस् विस्तृतमा)

पोखरा, भदौ ३० ।
बैदामको तालवाराही माविको नाममा रहेको करोडौं मूल्यको जग्गा गायब भएको छ । तालवाराही माविको डिहिकोपाटनमा रहेको झन्डै ५ रोपनी जग्गा अहिले कागजमामात्रै सीमित भएको हो । लालपुर्जामा ११ रोपनी रहेको विद्यालयको जग्गा अहिले ६ रोपनीमा खुम्चिएको छ । विद्यालयको जग्गा मिचेर घरै बनाएको र कतिको घरको कम्पाउन्ड नै विद्यालयको जग्गाभित्र पर्ने विद्यालयले जनाएको छ । विद्यालयको जग्गा आसपासका धेरैले बाटोको मापदण्ड मिचेर घर बनाएका छन् ।
२०३८ सालमा तत्कालीन नगर पञ्चायतले तालवाराहीलाई डिहिकोपाटनमा जग्गा उपलब्ध गरायो । तत्कालीन प्रधानपञ्च श्रीप्रसाद गुरुङको अध्यक्षतामा बसेको बैठकले खेलकुद मैदान निर्माण गर्न जग्गा उपलब्ध गराएको थियो ।
२०४१ सालमा जिल्ला मालपोत कार्यालयमार्फत कित्ता नम्बर ३२१० को ११ रोपनी ५ आना ३ पैसा क्षेत्रफल भएको जग्गा धनी पुर्जा विद्यालयले पायो । त्यसको ३३ वर्षपछि जग्गा नापी गर्दा विद्यालयको ५ रोपनी जग्गा गायब भएको हो । ‘२०४१ सालमा कित्ता नम्बर ३२१० मा विद्यालयको ११ रोपनीभन्दा बढी जग्गा थियो ।
पछि २०६२ सालमा जग्गा नापी गर्दा ४५ नम्बर कित्तामा त्यसलाई परिवर्तन गरियो । अहिले त्यो कित्ताको ठूलो क्षेत्रफल गुमेको छ,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष परशुराम पहारीले भने, ‘पहिले ५ हजार ७ सय वर्ग्मिटर रहेको जग्गा अहिले ३ हजार ५ सय ४७ वर्ग्मिटरमा खुम्चिएको छ ।’
तत्कालीन वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेशबहादुर भट्टराईको कार्यकालमा प्रेमराज पहारी, रामराज पहारी, सिद्धिबहादुर पहारी, गोविन्दकुमार श्रेष्ठ लगायतको पहलमा जग्गाको लालपुर्जा विद्यालयलाई प्राप्त भएको व्यवस्थापन समिति अध्यक्ष पहारीले बताए ।
२५, ३०, ३९, ४१ १०७, १०८, ११०, १११, ११४ र ११५ कित्ता नम्बरकोे जग्गा र त्यसमा बनेका संरचनाले समेत विद्यालयको जग्गा अतिक्रमण गरेको नापीबाट देखिएको अध्यक्ष पहारीले जानकारी दिए । विद्यालयको जग्गामा सटरकबल बनाएर भाडामा दिन सकिन्छ कि भनेर हेर्न पुगेका बेला स्थानीयले तथानाम गाली गरेर विरोध गरेको अध्यक्ष पहारीले बताए ।
उनले भने, ‘विद्यालयको धेरै जग्गा मिचिएको गुनासो आइरहेको थियो । हामीले भदौ १२ गते नापी कार्यालयबाट प्राविधिक बोलाएर नाप्दा ५ रोपनी अतिक्रमण भएको भेटियो ।’
२०५८ सालमै विद्यालयले १२ सटर भएको व्यापारिक भवन बनाएको थियो । अहिले त्यसैको आसपासमा विद्यालयको जग्गा मिचिएको छ । विद्यालयकी प्रधानाध्यापक भद्रकाली लामिछानेले भनिन्, ‘अहिले अर्बौं मूल्य पर्ने विद्यालयको जग्गा अरुकै कब्जामा पुगेको छ, हामी अन्यायमा परेका छौं ।’ विद्यालयको जग्गा फिर्ता गराउन पहल गरिदिन प्रधानाध्यापक लामिछानेले आग्रह गरिन् ।
सार्वजनिक जग्गामाथि धावा बोल्ने काम हुँदा सबैले चासो र सहयोग गर्नुपर्ने लामिछानेको भनाइ थियो । ‘विद्यालय सबैको साझा हो । विद्यालयको जग्गा सबैको साझा सम्पत्ति हो । यस्तो मिच्ने अधिकार कसैलाई छैन,’ लामिछानेले भनिन्, ‘विद्यालयको जग्गा खोज्दा हामीले धेरै अपमान खेप्नुपरेको छ ।’
सबैको सहयोग र समन्वयमा विद्यालयको जग्गा कायम नभए कानुनी उपचार खोज्ने अध्यक्ष पहारीले बताए । सडक निर्माण तथा टोल विकास संस्थाले विकास निर्माणका काम गर्ने बेलामा विद्यालयलाई सहभागी नै नगराएको उनले बताए । २०३२ सालमा सर्भे गर्दा बाटोको मापदण्ड २० मिटर तोकिएको थियो ।
त्यो बाटो अहिले चाक्लो भइसकेको छ । मुख्य सडकले पनि विद्यालयको जग्गा खाइदिएको छ । तर, त्यहाँ घर बनाउने सबैले बाटोको मापदण्ड मिचेको भेटिएको छ ।
स्थानीयले भने जग्गा मिचिएको हो भने विद्यालय अहिलेसम्म चुप बस्नुको तुक नभएको बताएका छन् । स्थानीयले सबैको साझा जग्गा र चौतारोलाई मासेर भवन निर्माण गरेर विद्यालयले भाडामा लगाएर खान खोजेको भन्दै विरोध गरेका छन् । वडा नम्बर ६ का अध्यक्ष जगत पहारीले सबै सरोकारवालाको छलफलपछि यो विषय अगाडि बढ्ने बताए ।
‘विद्यालयको जग्गा गुमेको साँचो हो । त्यहाँका स्थानीयबाट बाटोको मापदण्ड पनि मिचिएको छ,’ वडाध्यक्ष पहारीले भने, ‘केही जग्गा ओभरल्यापिङ देखिएको छ ।’
नरपालिकाको लापरवाही
घर बनाउँदा नगरपालिकाको स्वीकृति लिनुपर्छ । विद्यालयको जग्गा र आसपासका बनेको घरले पनि नगरपालिकाबाट स्वीकृति पाएका छन् । तर, विद्यालयको जग्गा मिचिँदा र बाटोको लागि स्थानीयले जग्गा नछोडी कसरी भवन निर्माण गर्न नरपालिकाले कसरी स्वीकृति दियो ?’ विद्यालयले प्रश्न उठाएको छ ।
‘सार्वजनिक जग्गा मिचेर नगरपालिकाको स्विकृतिमा कसरी भवन निर्माण तथा मापदण्ड कायम हुन सक्यो ?’ व्यवस्थापन समिति अध्यक्ष परशुराम पहारीले भने, ‘नरपालिकाले लापरवाही गरिदिँदा विद्यालयको जग्गा मिचिएको हो ।’ कतिपयले विद्यालयकै जग्गामा घर तथा कम्पाउन्ड बनाएको भने कतिपयले आफूले छोड्नुपर्ने बाटोको मापदण्ड उल्लंघन गरेको विद्यालयको आरोप छ ।
‘विद्यालय तथा घर निर्माण गर्ने दुवैले बाटोको मापदण्ड छोड्नुपर्छ तर त्यस्तो भएको छैन,’ प्रधानाध्यापक लामिछानेले भनिन्, ‘विद्यालयको जग्गा मिच्न नगरपालिका नै सहयोगी बनिदियो ।’
समिति तथा जनप्रतिनिधि नहुँदाको उपज
लामो समय विद्यालय व्यवस्थापन समिति नै सक्रिय हुन सकेन । व्यवस्थापन समितिले नै पूर्णता नपाउँदा सबैको एकमत हुन सकेन ।
‘विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउन र सक्रिय हुन सकेन,’ प्राचार्य लामिछानेले भनिन्, ‘अहिले व्यवस्थापन समितिले पूर्णता पाएपछि बल्ल यो विषयले प्राथमिकता पाएको छ ।’ व्यवस्थापन समिति तथा जनप्रतिनिधिसमेत नहुँदा यो विषयमा पहिला आवाज उठाउन नसकेको उनी बताउँछिन् ।
जग्गा खोज्दै आमभेला
मिचिएको जग्गा खोज्दै विद्यालयले शुक्रबार भेला बोलाएको छ । विद्यालयले जनप्रतिनिधिसहित सबै सरोकारवालालाई बोलाएर छलफल गर्न लागेको व्यवस्थापन समिति अध्यक्ष परशुराम पहारीले बताए ।
‘वडा नम्बर ६ का जनप्रतिनिधि, चन्दादाता, स्थापनाका अभियान्ता, अक्षयकोष स्थापनाकर्ता, नागरिक समाज, समाजसेवी, शिक्षक, अभिभावक र स्थानीयलाई समेत बोलाएर निकास खोज्न भेला आह्वान गरेका हौं,’ अध्यक्ष पहारीले भने ।

पोखराका पत्रकार अर्जुन गिरी र अमृत सुवेदीले समाधान दैनिक पत्रिकाका लागि लेखेका हुन् ।