तरुण दल कास्कीले विरोध प्रदर्शन गर्ने

पोखरा, साउन ५ ।
नेपाल तरुण दल कास्कीले आइतबार पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ । नेपाल तरुण दलले काठमाण्डौंको माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीको लाठीचार्जबाट तरुण दल अध्यक्ष जीतजंग बस्नेत सहितका दर्जनौं नेता कार्यकर्ता घाईते भएको भन्दै त्यसको विरोध स्वरुप कास्कीमा प्रदर्शन गर्न लागेको हो ।

डा. गोविन्द केसीको माग सम्बोधन गर्न र जीवनरक्षाको माग गर्दै तरुण दल कास्कीले जिल्ला प्रशासन कार्यालय कास्की अगाडी प्रदर्शन गर्ने कार्यक्रम तय भएको तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । सरकार गठन भएदेखि नै सरकारका गतिविधीप्रति नेपाली काँग्रेस सहित भ्रातृ संगठनहरुले निरन्तर सचेत गराउँदै आएका थिए । डा. केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसन बसिरहँदा सरकार माग सम्बोधन गर्न गम्भीर नबनेको काँग्रेसको आरोप छ ।

केसीको अनसन सुरु भएदेखि नै काँग्रेस, नयाँशक्ति र विवेकशिल साझा पार्टीले सरकारको विरुद्धमा प्रदर्शन गरिरहेको छ । तरुण दलको विरोध कार्यक्रममा नेविसंघको पनि सहभागिता रहने नेविसंघका केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए ।