तरुण दलका नेताको हत्या

बुटवल, फागुन २७ ।
अज्ञात समूहले रुपन्देहीमा नेपाल तरुण दलका एक सक्रिय कार्यकर्ताको हत्या गरेको छ । देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीको आइतबार राति भुलहीमा हत्या भएको हो ।

मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेका पुरीलाई अज्ञात समूहले आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

आक्रमणबाट गम्भीर घाइते पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेज भलुही पुर्याइएको थियो । तर, लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मल्लले बताए ।

प्रहरीले आक्रमण गर्ने समूह फरार रहेको बताए पनि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । कांग्रेस क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका प्रमुख हीराबहादुर खत्रीले पुरी तरुण दलको सक्रिय कार्यकर्ता रहेको बताए ।