तमुवान मगरात समितिको निर्णय–अर्थमन्त्रीलाई बहिष्कार, प्रदेश अनिश्चितकालीन बन्द

पोखरा, असार २१ ।
पहिचान सहितको प्रदेश नामाकरणको माग गर्दै आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिले प्रदेशका अर्थमन्त्री किरण गुरुङ र संस्कृतिविद् जगमान गुरुङलाई सबै कार्यक्रममा बहिष्कार गर्ने निर्णय गरेको छ । विहिबार बैठक बसेर समितिले पहिचान नामेट गर्नेगरी अभिब्यक्ति दिएको र त्यसकै पक्षपोषण गरेको आरोप लगाउँदै जातिय कुनैपनि कार्यक्रममा समावेश नगराउने निर्णय गरेको हो ।

‘किरण र जगमानलाई कुनैपनि कार्यक्रममा नबोलाउने र उनीहरुको सबै कार्यक्रम बहिष्कार गर्ने समितिको निर्णय छ, संयोजक कर्म तमुले भनिन्–यति ठूलो आन्दोलन भैरहँदा पहिचानको पक्षमा लाग्नुपर्नेमा उल्टै अपब्याख्या गरी पहिचानको विरोध गर्नु हामीलाई सह्य छैन । उनीहरुको कुनैपनि कार्यक्रम हामी बहिष्कार गर्छौं ।’

समितिले आदिवासी जनजाति कोटाबाट प्रदेशसभा सदस्य बन्ने अवसर पाएका र प्रदेशसभामा जनजातिका आवाज नउठाई दलको पछि लागेको भन्दै अन्य सदस्यहरुलाई पनि बहिष्कार गर्ने निर्णय गरेको छ । यस्तै पहिचान विरुद्ध चलखेल गरिएको भन्दै त्यसको विरोध स्वरुप शुक्रबार महेन्द्रपुलदेखि ¥याली आयोजना गरेको छ ।

माग सुनुवाई नगरी गण्डकी प्रदेश घोषणा गरे असार २४ गते चिप्लेढुंगाबाट शवयात्रा निकालेर गण्डकी नामलाई तुलसीघाटमा अन्त्यष्टी गर्ने निर्णय पनि गरेको छ । र यति गर्दा पनि माग नसुनिए प्रदेश नम्बर ४ अनिश्चितकालिन बन्द गर्ने घोषणा संघर्ष समितिको छ ।