तप्राङको पहिरो–राज्यकोषको दोहन, दुई करोड सकिदाँ पनि समस्या उस्तै

पोखरा, माघ ३ ।
कास्कीको मादी गाउँपालिका–६ तप्राङमा २०६७ सालमा ठूलो पहिरो झर्यो । धनजनकै क्षति हुने गरि झरेको पहिरो अहिलेसम्म झरिरहेकै छ । पहिरो नियन्त्रणका लागि सरकारले बर्षेनी बजेट पठाएपनि त्यसले खासै उपलब्धीपूर्ण काम हुन सकेको छैन । क्रमागत योजनाको रुपमा अहिले सम्म १ करोड ८७ लाख रुपैयाँ पहिरो नियन्त्रणका लागि खर्च भैसकेको छ ।

तर पहिरोको अवस्था भने अझैपनि ज्यूंका त्यूं छ । पहिरो नियन्त्रणमा देखिने गरि काम नभएपछि स्थानीयहरुले अहिले कामको विरोध गर्न थालेका छन् । तप्राङस्थित नानुको पहिरो भनिने उक्त योजनाका लागि सरकारले जल उत्पन्न प्रकोप नियन्त्रण विभाग मार्फत पठाएको रकमको खर्च र उपलव्धी वारे कुनै पनि छानविन नहुँदा अनियमितता बढेको स्थानीयको गुनासो छ ।

पहिरो नियन्त्रणका लागि यो वर्ष पनि ८० लाख रुपैयाँ सकिएको छ । उपभोक्ता समिति मार्फत् गरिएको उक्त योजनाको वजेट सकिएपनि काम चाहीँ नभएको स्थानीय एक यूवाले बताए । निर्माण उपभोक्ता समितिले योजनाका काम कारवाहीलाई व्यवस्थित र विश्वासिलो वनाउने कुनै प्रयास गरेको छैन । समितिका अध्यक्ष झलक प्रसाद पोखरेलले वडा अध्यक्ष र पार्टीको निर्देशनमा मात्र काम गर्ने गरेको समितिका अन्य सदस्यहरु बताउँछन् ।

फरक विचार राख्नेहरुलाई अध्यक्षले बैठकमा पनि नबोलाउने र आँफुखुशी काम गर्ने गरेको समितिका उपाध्यक्ष केशबहादुर गुरुङले बताए । पहिरो रोक्ने दीर्घकालिन योजना नबनाई ग्याविन मात्रै भर्दा काम टिकाउ नभएको उनले सुनाए ।

पहिरो नियन्त्रणका लागि गरिएको कामप्रति गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले पनि गुनासो गरे । ‘प्राविधिक कुरा हो । हामीले बोल्न त मिल्दैन । तर नियन्त्रणका लागि खासै काम भएको देखेको छैन, उनले भने–बर्खामा काम गर्छन् अनि उतिबेलै बगाएर लैजान्छ । हामीसँग समन्वय गरेको भएपनि सजिलो हुन्थ्यो । पैसाजति बालुवामा पानी हालेजस्तो भएको छ ।’ उपभोक्ता समिति गठन गर्दा पनि गाउँपालिकासँग समन्वय नगरेको उनले बताए ।

उपभोक्ता समितिका अध्यक्ष झलकप्रसाद पोखरेलले चाहीँ राजनीतिक असहमति जनाएको बताए । ‘स्थलगत रुपमा धेरै काम भएको छ । साथीहरुले जतिबेला पनि राजनीतिक कुरा गर्नुहुन्छ । पहिलोको चाहीँ मलाई थाहा भएन । यो बर्ष राम्रो काम भएको छ, उनले भने–समिति गठन गर्दादेखि नै वहाँहरुले सहयोग गर्नुभएको छैन । वहाँहरुले भनेजस्तो खत्तम भएको हैन ।’ समितिका अन्य सदस्यहरुले तोकिएको जिम्मेवारी पूरा नगरेको उनको आरोप छ ।