तनहुँमा वृद्धको हत्या-कुकुर घरमा छिरेपछि चारजना पक्राउ

दमौली, मंसिर ११ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कवासेमा मृत फेला परेका एक वृद्धको हत्या गरेको आरोपमा आज चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका विनोद विक, बद्री विक, जुना विक र सुशील विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वृद्धको हालसम्म पनि सनाखत हुनसकेको छैन । वृद्धको शव गत शुक्रबार कवासेस्थित एक निर्माणाधीन घरमा फेला परेको थियो ।

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले पक्राउ परेकाविरुद्ध जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । हत्याका मुख्य अभियुक्त विनोदलाई प्रहरीले शनिबार बागलुङबाट पक्राउ गरेका थियो । पक्राउ परेकामध्ये विनोद बद्रीका भतिजा हुन् भने जुना श्रीमती र सुशील छोरा हुन् । बद्री, जुना र सुशीलले वृद्धको हत्या नगरे पनि घटना लुकाउन खोजेको प्रहरीको भनाइ छ ।

घटनाअनुसार गत बिहीबार राति विनोदले ती वृद्धलाई बद्रीको घरमा लगेर रक्सी खुवाएका थिए । रक्सी लागेपछि झगडा हुन थाल्दा विनोदले ती वृद्धलाई कुटपिट गरेका थिए । विनोदको कुटाइबाट ढलेका वृद्धलाई बिहीबार राति नै उनीहरुले निर्माणाधीन घरमा लगेर छाडेका थिए । घटनाका अभियुक्त पक्राउ गर्न प्रहरीलाई कुशल नाम गरेको कुकरले सफता दिलाएको छ । शव फेला पर्ने्बित्तिकै प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुशल नामको कुकुरलाई घटनास्थल र्पुयाएको थियो ।