ढुकुटी भर्नेलाई खर्च गर्ने अधिकार छ–विश्वप्रकाश शर्मा

पोखरा, माघ १२ ।
नेपाली कांंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ढुकुटी भर्ने पार्टीले जनताका पक्षमा खर्च गर्दा नआत्तिन आग्रह गरेका छन् । उनले राष्ट्रको ढुकुटी बढाउन योगदान गर्नेहरुले खर्च गर्ने अधिकार पनि राख्ने बताएका छन् । बृद्धभत्ता दिने उमेर ७० बाट घटाएर ६५ बनाएकोमा विरोध गर्नुपर्ने अवस्था नरहेको उनले जिकीर गरे । सरकारको निर्णयलाई बचाउ गर्दै शर्माले राज्यको ढुकुटी बढाउन कांग्रेसको योगदान रहेको बताए ।
पोखरामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले भने, ‘जसले आय गर्ने क्षमता राख्छ, उसले व्यय गर्ने हैसियत पनि राख्छ ।’ कांग्रेसले कुनै भत्ताको आकार बढाएको छ भने उसले राष्ट्रको ढुकुटी आकार बढाएको हेर्नु पर्ने उनले बताए । शर्माले भने, ‘वितरण मात्र नभई वितरण गर्न सक्ने ढुकुटी बढाउन कांग्रेसले काम गरेको छ कि छैन हेनुपर्छ ।’ नेपाली कांग्रेसले २०५६ सालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्दा पनि विरोध भएको भन्दै शर्माले अहिले राजश्वमा ३० प्रतिशत योगदान पुगेको जिकिर गरे । त्यसअघि उनले काँग्रेसका नेता तथा कार्यकर्ताहरुसँग पनि भेटघाट गरेका थिए ।