डिभोर्सपछि रवी लामिछानेले भने–वर्षौंसम्म सोफामा सुतेँ, रोएर रात काटेँ

काठमाण्डौं, पुस २० ।
पत्रकार रवी लामिछानेको डिभोर्सको घटनाले यतिबेला सामाजिक सञ्जालहरु निकै तातेका छन् । शुक्रबार बिहान रविले फेसबुकमा लामो स्टाटस पोस्ट गर्नासाथ तरंग उब्जियो । आफ्नो निजी जीवनका केही विवादास्पद तथ्य मिडियामा आउन लागेको थाहा पाएर उनले चलाखीसाथ सुरुमै आफ्नो भनाइ सार्वजनिक गरिदिएका थिए ।

रवि र उनकी पत्नी इशा श्रेष्ठको केही दिनअघि डिभोर्स भएको हो । उनीहरुबीच दुई वर्षदेखि बोलचालै थिएन । रविले अर्की युवतीसँग लागेर आफूलाई डिभोर्स दिन वाध्य पारेको दावी इशाले गरिरहेकी छन् । रविले भने आफ्नी पूर्वपत्नी डिप्रेसनको रोगी भएको बताएका छन् ।

विदेशी गर्लफ्रेन्ड र बच्चाको बारेमा

आफ्नो फेसबुक स्टाटसमा रविले एक विदेशी महिलासँग विवाहइतर सम्वन्ध रहेको र त्यसबाट एक सन्तान पनि भएको स्वीकार गरेका छन् । रविको भनाइ अनुसार ती महिलासँग उनले बिहे भने गरेका थिएनन् । केवल लिभिङ टुगेदरमा थिए ।

यस्तो सम्वन्धलाई चलनचल्तीमा ‘परस्त्रीगमन’ भनिन्छ । परस्त्रीगमन गरेर सन्तान जन्माउनु नेपालको कानूनअनुसार दन्डनीय हो र सांस्कृतिक दृष्टिकोणले पनि अनैतिक । रवि स्वयम्ले पनि यसमा आफ्नो कमजोरी स्वीकारेका छन् ।

उनले भने, ‘घरमा श्रीमतीसँग सम्बन्ध बिग्रेपछि आवेशमा मैले बाहिर सम्वन्ध राख्न पुगेँ । सायद नैतिक दृष्टिले त्यसमा मेरो अलिकति चुक भयो । तर, त्यसमा मेरोभन्दा परिस्थितिको बढी दोष थियो ।’ यद्यपि, अमेरिकामा यस्तो सम्वन्ध गैरकानूनी भने नहुने उनको भनाइ छ । ‘यस्तो सम्वन्ध त्यता गैरकानूनी मानिँदैन, तर जन्मिएको बच्चाको जिम्मेवारी भने लिनुपर्छ,’ उनले भने ।

सफल प्रेम, असफल बिहे

नगरकोटमा जन्मेका रवि र डिल्लीबजारमा जन्मेकी ईशाको प्रेमविवाह भएको हो । बिहे ०५२ साल कि ५३ सालमा भएको भन्ने रविले ठ्याक्कै सम्झिन सकेनन् । विजय मेमोरियल स्कुल पढ्दा उनीहरु प्रेममा परेका थिए । तर, अर्को जातको भन्दै रविका परिवारले ईशालाई स्वीकार नगरेपछि उनले भगाएर नगरकोट लगे । उनीहरु भागेको हल्ला फैलिएपछि इशाको परिवारले बोलाएर विवाह लागि दबाव दिए । अन्ततः रविले पनि आफ्नी आमालाई सहमतिमा ल्याए । अनि, ईशाको घरमा गएर सिन्दुरपोते गरियो । रविका अनुसार बिहे हुँदा उनी १९ वर्षका मात्र थिए ।

नेपालमा केही समय फिल्म पत्रकारिता गरेका रवि सन् २००२ मा श्रीमती र दुई छोरीलाई छोडेर पढ्न भन्दै अमेरिका गए र त्यतै सेटल भए । अमेरिकामा सुरुका वर्षहरुमा आफूले निकै दुख गरेको रवि बताउँछन् । फलस्वरुप उनी ३ वर्षभित्र बाल्टिमोरमा मोर्गेजमा घर पनि किन्न सफल भए ।

यता नेपालमा रहेकी श्रीमतीले भने रविका बारेमा अनेकथरी कुरा सुन्न थालिन् । आफ्नो श्रीमानको अमेरिकामा अरुसँग सम्वन्ध रहेको शंका उनीमा बढ्दै गयो । मनमुटाबको बिउ यही बन्यो । ‘म भने परिवारका लागि दिनरात मिहिनेत गरिरहेको हुन्थेँ, उनी चाहिँ मेरो विषयमा अनेक शंका गर्थिन्,’ रविले भने ।

सन् २००८ मा रविले श्रीमती र छोरीहरुलाई पनि अमेरिकामा लगे । तर, पनि उनीहरुको सम्वन्ध सुध्रिन सकेन । बरु झन् बिग्रिदै गयो । रवि सुनाउँछन, ‘हामी एउटै ओछ्यानमा सुते पनि श्रीमान–श्रीमती जसरी सुत्न सकेनौं । म सँधै देब्रे कोल्टो फर्केर सुत्थेँ र रातभरि त्यही पोजिसनमा निदाउँथेँ । अहिलेसम्म पनि मेरो देव्रे कोल्टो फर्केर सुत्ने बानी हटेको छैन ।’

‘बिस्तारै हामी एउटै ओछ्यानमा सुत्न नसक्ने अवस्थामा पुग्यौं । त्यसपछि म लिभिङ रुमको सोफामा सुत्न थालेँ । छोरीहरुलाई भने यो कुरा थाहा थिएन । उनीहरु आफ्नो कोठामा गइसकेपछि मात्रै म सोफामा सुत्थेँ । सुत्थेँ के भन्नु, पसारिन्थेँ । रातभर मनमा अनेक तर्कना आउँथे । निदाउन साह्रै गाह्रो हुन्थ्यो । अहिले ती दिनहरु सम्झिँदा पनि मन गाँठो परिरहेको छ, आँखा बिझाइरहेका छन्,’ रविले भावुक स्वरमा भने ।

यही सिलसिलाका बीच रविको एक विदेशी युवतीसँग सम्पर्क बढ्न थाल्यो । आफ्नी पत्नीसँग तिक्तता बढिरहेका बेला उनी ती महिलाप्रति आकर्षित भए । उनीहरुबीच प्रेम सुरु भयो । अन्ततः एकदिन उनी आफ्नो घर छोडेर हिँडे र विदेशी प्रेमिकासँग लिभिङ टुगेदरमा बस्न थाले । उनीहरु बाल्टिमोरमै एउटा अपार्टमेन्टमा बस्थे । ‘म यसरी लिभिङ टुगेदरमा रहँदा पनि घर परिवारको सबै हेरचाह गर्थेँ । परिवारका लागि आवश्यक किनमेलदेखि विल भुक्तानीहरु सबै गर्थेँ,’ रविले भने ।

सबै सम्पत्ति श्रीमतीलाई किन ?

डिभोर्सपछि रविले आफूसँग भएको भएभरको सम्पत्ति श्रीमतीलाई दिएको बताएका छन् । उनी भन्छन्, ‘लगाएको कपडाबाहेक अब मेरो स्वामित्वमा केही छैन ।’ रविले लाजिम्पाटमा रहेको अपार्टमेन्ट इशाको नाममा गरिदिएको बताएका छन् । यो अपार्टमेन्ट मासिक एक लाख भाडामा लागिरहेको छ । यस्तै अमेरिकामा चार लाख डलरमा किनेको घर पनि ईशालाई सुम्पेका उनी बताउँछन् ।

सो घरको वार्षिक इन्स्टलमेन्ट लगायतका सबै लोन तिर्ने दायित्व पनि उनले लिएका छन् । रविका अनुसार सबै गरेर उनले मासिक १५–१६ सय डलर अमेरिका पठाउनुपर्ने हुन्छ । मासिक रुपमा रकम पठाउने ग्यारेन्टीस्वरुप आफूले ५ करोडको चेक पनि दिएको रविले बताए । यतिले नपुगेर २५ लाखको छुट्टै चेक पनि दिएका छन् । छोरीहरु आमासँग बस्ने भए पनि उनीहरुको पढाई र बिहेबारी गर्दा आइपर्ने आर्थिक दायित्व लिन पनि उनी तयार भएका छन् ।

कानून बमोजिम डिभोर्स गरेपछि श्रीमानले श्रीमतीलाई आफ्नो आधा सम्पत्ति दिनुपर्छ । तर, रवि किन यति धेरै लाचार भएर आफ्नो सर्वश्व दिन तयार भए त ? स्वतः प्रश्न उठ्छ । यसमा रविको जवाफ यस्तो छ, ‘उनले मलाई मेरो निजी कुराहरु बाहिर ल्याइदिन्छु र तँलाई दुनियाँका अगाडि नंग्याइदिन्छु भनेर बारम्बार ब्ल्याकमेलिङ गर्दै आइन् । आफ्नो सबै शर्त नमान्दासम्म डिभोर्स गर्न तयार नै भइनन् । त्यसैले आफ्नो लागि बोझ बनिरहेको सम्वन्ध बिसाउनका लागि असमान सम्झौता गर्न बाध्य भएँ ।’

रवि हाल चाबहिलमा रहेको एउटा अपार्टमेन्टमा भाडामा बस्दै आएका छन् । त्यहाँ मासिक २५ हजार भाडा तिर्नुपर्ने उनले बताए । ‘अहिले टेलिभिजन कार्यक्रम र विज्ञापनहरुबाट मासिक दुई–तीन लाख कमाइरहेको छु, अरु एक्लो जीवन बाँचिरहेको छु, त्यसैले सम्पत्तिको कुनै लोभ पनि छैन,’ उनले भने ।

निकितासँग बिहेको सम्भावना ?

रविको डिभोर्सको खबरसँगै चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग उनको सम्वन्धलाई लिएर बजार तात्तिएको छ । उनीहरु केही समयदेखि अफेयरमा छन् । निकिता पनि डिभोर्सी हुन् । रवि र निकिता एउटै अपार्टमेन्टमा फरक–फरक फ्लोरमा बस्छन्, जहाँ अर्की डिभोर्सी नायिका रेखा थापा पनि बस्छिन् । निकितासँग सोही अपार्टमेन्टमा चिनजान भएको रविले बताए । ‘हामी एकदमै राम्रो साथी हौं, अहिले यति मात्रै भनौं,’ निकितासँगको सम्वन्धबारे उनी त्यति खुल्न चाहेनन् । विवाहको सम्भावनाबारे सोध्दा उनले अस्वीकार पनि गरेनन्, स्वीकार पनि गरेनन् ।

पूरा पढ्नुस् ।