डा. भट्टराई भारत जाँदै, एक साता उतै रहने

काठमाण्डौँ, ३० चैत

नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारत जाँदै छन् । पत्नी एवम् विदेश विभाग इन्चार्ज हिसिला यमी र बुवा भोजप्रसादसहित भारत जान लागेका डा. भट्टराई एक साता उतै रहने छन् । नयाँ शक्ति पार्टीका अनुसार डा. भट्टराईले केही राजनीतिक कार्यक्रममा सहभागीता जनाउनुका साथै धार्मिक र पर्यटकीय स्थानहरुको भ्रमण पनि गर्नेछन् । मिडिया सेन्टरले दिएको जानकारी अनुसार डा. भट्टराईले बैंगलोरमा आयोजित अन्तर्रा्ष्ट्रिय नेपाली समाज, भारतको कार्यकर्ता भेलालाई प्रशिक्षण दिने छन् ।

उनी नयाँदिल्ली, मुम्बई र तमिलनाडुसमेत पुग्ने र नेपालीहरुको समस्या समाधानका विषयमा परामर्श गर्ने नयाँ शक्तिले जनाएको छ । भट्टराईले धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थानहरुको भ्रमण पनि गर्नेछन् । उनको साथमा ८८ वर्षीय बुबा भोजप्रसाद भट्टराई पनि रहनेछन् । बुबासँगै भट्टराईले रामेश्वरम र द्वारकाधामको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । डा. भट्टराई बैशाख ८ गते साँझ काठमाडौं फर्किने नयाँ शक्ति पार्टी नेपालको मिडिया सेन्टरले जनाएको छ ।